अछामका शाही मृत्यु प्रकरणः पक्राउ परेकी मेयर चलाउने सहित ३ जनामाथि मुद्दा नचल्ने 
2022/07/05, 6:54
 
ss

अछामको पञ्चदेवल विनायक–४ का विनोद शाही मुत्यु प्रकरणमा पक्राउ परेकी मेयर अम्बिका चलाउनेसहित ३ जनामाथि मुद्दा नचल्ने भएको छ। प्रहरीले मेयर चलाउने, नेत्रबहादुर शाही र रामबहादुर शाही हत्यामा संलग्न भएको कुनै पनि प्रमाण नभएको भन्दै अनुसन्धानपछि सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो।

प्रहरीले बुझाएको प्रतिवेदनमा घटना भएको समयमा मेयर चलाउने धनगढी, नेत्रबहादुर शाही काठमाडौं र रामबहादुर शाही मंगलसेनमा भएको उल्लेख छ। र, उनीहरु घटनामा संलग्न भएको कुनै प्रमाण नपाएको प्रतिवेदन पाएपछि सरकारी कार्यालयले मुद्दा नचल्ने निर्णय गरेको छ। सरकारी वकिल कौशल ढुंगानाका अनुसार तीनै जना विरुद्ध मुलुकी अपराधसंहिता २०७४ को दफा ३१ अनुसार प्रमाण पुगेको छैन। 

गत वैशाख १७ गते बेपत्ता भएका विनोद शाही २० गते मृत अवस्थामा भेटिएका थिए।  उनको हत्या गरिएको भन्दै परिवारले पञ्चदेवलकी मेयर अम्बिका चलाउने, वडा नम्बर ४ का निवर्तमान अध्यक्ष सदनबहादुर शाही, दानमति बम शाही सहित १३ जना विरुद्ध किटानी जाहेरी दिएको थियो। मेयर चलाउने सहित ७ जना घटनामा संलग रहेको आरोपमा पक्राउ परेका थिए। किटानी जाहेरी दर्ता भएकामध्ये ६ जना अझै फरार छन्।

उक्त घटनापछि अहिले अछामको सदरमुकाम मंगलसेनमा शाहीलाई न्यायको माग गर्दै दिनहुँ प्रदर्शन भइरहेको छ। शाहीको न्यायको लागि सोमबार ५ दलीय गठबन्धनले गरेको आन्दोलनले उग्र रुप लिँदा १२ सुरक्षाकर्मी तथा धेरै स्थानीय घाइते भएका थिए। त्यसपछि जिल्ला प्रशासनले सदरमुकामका केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको थियो।