दार्चुलामा उजुरी दिन गएका युवकमाथि प्रहरीको रामधुलाई.......
2022/07/14, 7:06
 
ss

दार्चुलाको गोकुलेश्वर प्रहरीमा उजुरी दिन गएका एक युवकलाई प्रहरीले मरणसन्न हुने गरी पिटेको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–६ का चक्र सिंह कार्कीलाई दार्चुलाको गोकुलेश्वर स्थित प्रहरी चौकीका इन्चार्ज प्रहरी निरीक्षक सुरज बहादुर सिंहले निर्घात कुटपिट गरेका हुन् ।

गत असार २८ गते आफ्नी श्रीमति स्थानीय पुरुषसँग फेला पारेपछि ती पुरुष सहित चौकी पुगेका कार्कीको चौकीमा राखेर रामधुलाई गरिएको हो । तर कार्कीका आफन्तहरुले उनकी श्रीमति र ती पुरुषलाई साँझ नै छोटेको आरोप लगाएका छन् । २८ गते रातभरि थुनुवा कक्षमा राखेर आफ्ना भाईलाई निर्घात कुटपिट गरेको कार्कीका दाई भीम सिंह कार्कीले बताए ।

उनका शरीरका विभिन्न भागमा निल डाम छन् । कार्की दार्चुलाको शैल्यशिखर नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख हुन् । उजुरी दिन गएकामाथि कुटपिट भएपछि स्थानीयहरुले प्रहरी चौकी घेराउ गरेका छन् । स्थानीय बासिन्दाका अनुसार प्रहरी निरीक्षक सिंहले स्थानीयसँग कतिखेर आफूबाट गल्ती भएको बताउने गरेका छन् भने कतिखेर जे गर्न सक्छौ गर, अदालत जाऊ भनेर धम्क्याउने गरेका छन् । 

यता प्रहरी निरीक्षक सिंहले भने सोही बिषयमा छलफलमा रहेको भन्दै पन्छिन खोजेका छन् । उनले घटना घटेपछि त्यसको विस्तृत रुपमा बुझिरहेको र पछि सबै कुरा बताउने बताए ।