दार्चुलामा ११५ क्षयरोगी
2022/07/17, 2:53
 
ss

दार्चुलाका ९ वटै पालिकामा एक सय १५ क्षयरोगका बिरामी फेला परेका छन् । स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार जनघनत्व बढी रहेको सदरमुकामको महाकाली नगरपालिकामा सबैभन्दा बढी क्षयरोगका बिरामी छन् ।महाकाली नगरपालिकामा ३७ जना र सबभन्दा कम अपीहिमाल गाउँपालिकामा दुई जनामा क्षयरोगका बिरामी रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिए ।

उनका अनुसार चालु आर्थिक वर्षमा महाकाली नगरपालिकापछि नौगाड गाउँपालिका २२ जना र शैल्यशिखर नगरपालिकामा १८ जनामा क्षयरोग देखिएका छन् । मार्मा गाउँपालिकामा १६ जना, ब्यास गाउपालिका तथा दुहु गाउँपालिकामा ५/५ जनामा क्षयरोग देखा परेका छन् । मालिकार्जुन गाउँपालिकामा ६ र लेकम गाउँपालिकामा ४ जना क्षयरोगी देखापरेका छन् । दार्चुलामा पछिल्ला वर्षहरूमा क्षयरोगका बिरामी बढेको विभिन्न सर्वेक्षणले देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

क्षयरोगका बिरामीले औषधि नियमित नखाइदिँदा रोगको रोकथाममा चुनौती थपिएको सूचना अधिकारी कार्कीले बताए । ‘क्षयरोगका बिरामीहरूले लामो अवधिसम्म उपचार केन्द्रमा पुगेर दैनिक औषधि सेवन गर्नुपर्ने हुन्छ, तर यसलाई झन्झट मानेर धेरै बिरामी नियमित रूपमा औषधि सेवन गर्दैनन्,’ सूचना अधिकारी कार्कीले भने, ‘सिकिस्त बिरामी नपरी स्वास्थ्य परीक्षण नगराउने प्रवृत्ति छ ।’ रोग लुकाएर राख्नेजस्ता कारणले क्षयरोगीको संख्या बढ्ने गरेको चिकित्सकहरू बताउँछन् ।