कांग्रेस दार्चुलाका पूर्वजिल्ला सभापति कांग्रेस (विपी)मा प्रवेश
2022/08/10, 5:22
 
aa

नेपाली कांग्रेस दार्चुलाका पूर्व जिल्ला सभापति मानबहादर चन्द नेपाली कांग्रेस (विपी)मा प्रवेश गरेका छन् । बुधबार नेपाली कांग्रेस (विपी)का वरिष्ठ उपसभापति कर्णबहादुर मल्लले उनलाई पार्टी प्रवेश गराएका हुन् ।

हाल कञ्चनपुरको बेदकोट नगरपालिका–७ सुडा बस्दै आएका चन्द पार्टी प्रवेश गर्न नेपाली कांग्रेस विपी जिल्ला कार्य समिति डडेल्धुराको पार्टी कार्यालय किसुनजी भवनमा पुगेका थिए।चन्दले २०२९ सालमा नेविसंघबाट राजीनितिक यात्रा सुरु गरेका थिए । २०३६ सालमा नेपाली कांग्रेसमा सक्रिय भई बहुदलको प्रचारप्रसारमा लागेका थिए । उनी २०४६ सालको जनआन्दोलमा जेलसमेत परेका थिए ।

२०४७ सालमा दार्चुलामा नेपाली कांग्रेसको संगठन विस्तार गरी जिल्ला सभापति बनेका उनी २०४८ सालको प्रतिनिधि सभाको चुनावमा स्वतन्त्र उम्मेदवारसँग छिनो मतान्तरले पराजित भएका थिए। प्रजातन्त्र प्राप्तपछि २०४९ सालमा पहिलो जननिर्वाचित जिल्ला विकास समितिको सभापति बनेका चन्द २०५९ सालमा नेपाली कांग्रेस प्रजातान्त्रिक दार्चुला सभापतिसमेत भएका थिए ।

तर, नेपाली कांग्रेसको विचलन तथा कार्यशैलीप्रति असहमत रहँदै पछिल्लो समय उनी निष्किृय रहेका थिए। विपी कोइरालादेखि कृष्णप्रसाद भट्टराईसम्मको सिद्धान्तसँग सहमत भई कांग्रेस विपीको विधान आत्मसाथ गरी आवद्धता जनाएको उनको भनाइ छ । उनले इमान्दार सिद्धान्त तथा राष्ट्रियता, प्रजातन्त्र र समाजवादमा प्रतिवद्ध सबैमा नेपाली कांग्रेस विपीमा आवद्ध हुनसमेत आग्रह गरेका छन्।

सुदूरपश्चिममा देउवाले एकलौटी गर्न थालेपछि उनीसँग रूष्ट भएका नेता कार्यकर्ता नेपाली कांग्रेस विपीमा प्रवेश गर्ने क्रम बढिरहेको वरिष्ठ उपसभापति मल्लले बताए। संगठन विस्तारमा समेत आफूहरू लागेको उनको भनाइ छ।