२ दशक बित्दा पनि गोकुलेश्वरमा बसपार्क व्यवस्थापन हुन सकेन
2022/08/22, 4:43
 
ss

दार्चुला- दार्चुलाको गोकुलेश्वर बजारमा बसपार्क नहुँदा सडकमै सवारीसाधन  पार्किङ हुने गरेका छन् । जसका कारणले दुर्घटनाको जोखिम समेत बढेको छ ।

सवारीसाधन आवतजावत हुन लागेको २ दशक बित्दा पनि गोकुलेश्वरमा बसपार्क व्यवस्था हुन सकेको छैन । एक लेनको मात्रै भएको साँघुरो बाटोमा गाडी पार्किङले गर्दा आवतजावतमा समस्या र दुर्घटनाको जोखिम बढेको त्यहाँका स्थानीयहरूले बताएका छन् ।

शैल्यशिखर नगरपालिकाको केन्द्रसमेत रहेको गोकुलेश्वरमा जिल्लामा भित्रिने र बाहिरिने सवारीसाधन रोकिने गर्छन् तर पार्किङ गर्न बसपार्क नहुँदा ट्राफिक जाम बढ्ने गरेको छ । जसका कारण व्यापार व्यवसायमा समेत असर परेको स्थानीय व्यवसायीहरूको भनाइ छ ।

अहिले सडकका दायाँबायाँ, होटेल, स्थानीयका घरअगाडि सवारी पार्किङ हुँदै आएका छन् । बजारमा भइरहेको अव्यवस्थित पार्किङका कारण ट्राफिक व्यवस्थापनमा निकै समस्या भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।