सडक अवरुद्ध हुँदा दार्चुलावासी खाद्यान्नको अभाव झेल्दै
2022/08/24, 4:07
 
khana

सडक अवरुद्ध हुँदा दार्चुलावासी खाद्यान्नको अभाव झेल्दै आएका छन् । बढी पहिरोका कारण दार्चुलाको  मुख्य राजमार्ग  अवरुद्ध हुँदै आएको छ । जसका कारण दार्चुलामा खाद्यान्न  अभाव हुँदै आएको छ ।

यो मार्ग वर्षायाममा गएको बाढी पहिरोका कारण करिब दुई महिना देखि बन्द हुँदा दार्चुलाको दुहुँ ब्यास गाउँपालिकामा केही समय यता खाद्यान्नको अभाव भएको त्यहाँका स्थानीयहरूले बताएका छन् । कृर्षी उत्पादन कम हुने दुहुँ र ब्यास गाउँपालिकाका बासिन्दाले बजारको खाद्यान्नमा  निर्भर हुनु परेको ब्यास गाउँपालिका ६ का करन सिंह धामीले बताए ।

सडकमा माथिबाट ढुङ्गा खस्ने र हतारले हिँड्दा चिप्लिएर लड्ने डर उत्तिकै रहेको दुहुँ गाउँपालिका–५ सुत्खोलाका मानसिंह बडालले बताए । स्थानीय उत्पादनले नधान्ने भएकाले दैनिक उपभोग्य वस्तु सदरमुकामबाटै ल्याएर पूर्ति गर्नु परेको उनको भनाई छ । यातायात सेवा अवरुद्ध भएपछि दुहुँ र व्यास गाउँपालिकाका बासिन्दा सदरमुकाम आवतजावत गर्ने वैकल्पिक बाटो नभएकाले पहिरोको जोखिम मोलेर हिँड्नुपर्ने बाध्यता रहेको दुहुँ गाउँपालिका–२ हिकिलाका प्रेमसिंह कार्कीले बताए   ।

दुहुँ गाउँपालिकाको हिकिला, पीपलचौरी क्षेत्रमा ट्र्याक्टरसमेत नचल्दा चामललगायत दैनिक उपभोग्य वस्तुको अभाव हुने गरेको स्थानीय व्यापारीहरू बताउँछन् । व्यासका बासिन्दा विगतमा भारतीय बाटो हुँदै तुइनको माध्यमबाट आवतजावत गर्ने गरेका  थिए  ।

व्यास गाउँपालिकाका महाकाली तटीय बस्तीका बासिन्दा जोखिमपूर्ण तुइनको सहायताले भारतबाट खाद्यान्नको जोहो गर्दै आए पनि माथिल्लो भेगमा बस्ने स्थानीयलाई खाद्यान्न अभाव भएको व्यास गाउँपालिका–५ मोहनसिंह विष्ट बताए ।