व्यापारिक केन्द्र बन्दै बिपीनगर
2022/08/24, 4:57
 
ss

डोटी- विकासको पहिलो पूर्वाधार मानिने सडक सञ्जाल बोगटान क्षेत्रमा पुगेसँगै डोटीको बिपीनगर क्षेत्र पछिल्लो समय मुख्य व्यापारिक केन्द्र बन्न थालेको छ ।  बिपीनगर आसपासका क्षेत्र कृषि उपजको उत्पादन र निर्यात गर्ने मुख्य बजारका रूपमा चिनिन्छ ।

बडीकेदार गाउँपालिका–१ मा पर्ने यो क्षेत्रमा वार्षिक करोडौँ मूल्यबराबरको मकै, कोदो, काउलो, अदुवा, बेसार, भटमास, कागतीलगायत कृषि उपजको कारोबार हुने गर्छ ।  यसबाहेक यो क्षेत्रबाट तेजपात, सम्य, झ्याउ, पाखानबेदलगायत जडीबुटी बाहिर निर्यात हुने गर्छन् । यहाँबाट ठुलो परिमाणमा जडीबुटी नेपालगञ्ज हुँदै भारत जाने गरेको स्थानीयवासी यमप्रसाद भट्टले बताए ।

तीन दशकअघि यो क्षेत्रमा सडक, स्वास्थ्य, शिक्षालगायत आवश्यक भौतिक पूर्वाधार निर्माण गर्ने प्रयास थालिएको थियो । ‘विकासका दृष्टिमा पहिलेको बिपीनगर र अहिलेको बिपीनगरमा धेरै फरक देखिएको छ,’ स्थानीय व्यापारी भोज देउवाले भने, ‘सडक, शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रमा भइरहेका विकासले पहिलेभन्दा अहिले आर्थिक वृद्धि हुँदै गएको छ ।’

डोटी र कैलाली जिल्लाको सीमा क्षेत्र हुँदै बग्ने ठूलीगाड नदी, उत्तरतर्फबाट आउने गड्सेरी गाड र कापडी नदीको संगमनजिकैको मैदानी फाँटमा बिपीनगर बजार विस्तार भएको छ । अग्ला पहाडको खोंच छिचोल्दै कलकल बग्ने ठूलीगाड, गड्सेरी र कापडी गाडको आवाज र वरपरको प्राकृतिक दृष्यावलोकनले यहाँ घुम्न आउने यात्रु रमाउँछन् । 

यो क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यसहित केबुलकार निर्माण गर्न पहल पनि थालिएको छ । यसका लागि बिपीनगर देखि बन्ना केदार हुँदै उदैनी केदारसम्म र अत्तरकाँडाको काफली गाड हुँदै बडीकेदारसम्म केबुलकारको योजना निर्माणका लागि पहल भइरहेको स्थानीय समाजसेवी पदमराज जोशीले बताए ।  यो क्षेत्रको नाम बिपीनगर राखिएकाले त्यहाँ घुम्न जाने जोकोहीले पनि नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री स्वर्गीय बिपी कोइरालालाई स्मरण गर्ने गर्छन् ।  

विसं २०४६ मा भएको राजनीतिक परिवर्तनसँगै स्थानीय प्रजातन्त्रप्रेमी बासिन्दाको पहलमा यो क्षेत्रलाई बिपीनगर नामाकरण गरिएको हो । विसं २०४६ अघिसम्म यो क्षेत्र ‘घोडिलास’ नामले चिनिन्थ्यो ।  ‘नेपालमा प्रजातन्त्र स्थापना भएको दिन विसं २०४६ चैत २६ गते महामानव एवं लोकतन्त्रवादी नेता स्वर्गीय बिपी कोइरालाको नीति विचारमा आउने पिँढीलाई हिँडाउँदै समग्र विकास गर्ने उद्देश्यले उनकै नामबाट यो क्षेत्रको नामाकरण गरिएको हो,’ समाजसेवी जोशीले भने, ‘पछिल्ला वर्षमा नाम परिवर्तन गरिएकोप्रति कतिपयले असहमति जनाइरहेका छन् ।’ 

नजिकैको पहाडको टाकुरामा प्रचीनकालमा भोटेराजाको गढी रहेकाले नै यसको नाम पनि ‘घोडिलास’ राखिएको स्थानीयवासीको भनाइ छ । यही गढीमा भोटे राजाले शत्रुबाट जोगिनका लागि घोडा चढ्ने, दौडाउने, ढुङ्गाका हतियार बनाउनेजस्ता कला र सीप सिकाउने गरिएको बताइएको छ ।  भोटेगढीबाट कापडी नदीसम्म सुरुङमार्गसमेत रहेको भन्ने भनाइ छ । ‘यसै सुरुङमार्ग हुँदै भोटेराजाका रानीले कापडी नदीसम्म पुगेर गढीमा पानीको जोहो गर्ने गरेको भन्ने भनाइ छ,’ समाजसेवी जोशीले भने, ‘अहिले भने यो सुरुङमार्ग ठाउँ–ठाउँमा भत्किएको अवस्थामा रहेकाले, हाल कोही जान सक्दैनन् ।’

धनगढी—डडेलधुरा(भीमदत्त) राजमार्गमा पर्ने कैलालीको सहजपुर सडकखण्डबाट बिपीनगरको दूरी १८ किलोमिटर छ । यो सडकलाई साविकको भन्दा थप चौडा बनाएर स्तरोन्नति गर्ने काम भइरहेको छ ।  सहजपुरदेखि बिपीनगर र बोगटान क्षेत्र हुँदै जिल्ला सदरमुकाम दिपायलसम्मको सडक निर्माणाधीन छ । यस्तै, धनगढीदेखि स्याउले–बिपीनगर हुँदै दिपायलसम्मको फास्टट्र्याक (द्रूतमार्ग) सडक पनि निर्माणाधीन छ ।

सडक सञ्जालका दृष्टिमा यो क्षेत्रकेन्द्र भागमा पर्न थालेकाले पनि यसको महत्त्व अझ बढ्ने देखिएको छ । यस क्षेत्रमा क्याम्पस, विद्यालय, स्वास्थ्य संस्था, इलाका प्रहरी कार्यालय सञ्चालनमा छन् ।   सम्भावना र अवसरको खोजी गर्दै स्थानीय युवा करन साउदले यो क्षेत्रमा हालै एक करोड बढीको लगानीमा सुविधायुक्त होटेल सञ्चालनमा ल्याएका छन् । ‘घुम्न आउने पर्यटकलाई लक्षित गरेर होटल व्यवसाय सुरु गरेका हौँ,’ विकास होटेलका सञ्चालक साउदले भने, ‘पर्यटकको बसाइ सहज बनाउन चाहिने खानाका सबै परिकारका अलावा ठूलीगाडका माछाका परिकार दिने गरेका छौँ ।’  डोटीको प्रसिद्ध धार्मिक तीर्थस्थल बडीकेदारमा वर्षमा एकपटक लाग्ने धार्मिक मेलामा आवागमन गर्ने भक्तजन बिपीनगरको बाटो हुँदै पुग्ने गर्छन् ।