अछाममा सासु कुट्ने दुवै बुहारीलाई फसाद, अमानवीय व्यवहारको कसुरमा मुद्दा दर्ता
2022/08/26, 11:03
 
ss

धनगढी-  अछाममा सासुमाथि अमानवीय व्यवहार गर्दै कुटपिट गरेको आरोपमा पक्राउ परेकी बुहारी विरुद्ध प्रहरीले अमानवीय व्यवहार सम्बन्धी मुद्दा दर्ता गरेको छ । पञ्चदेवल विनायक नगरपालिका–६ की अन्दाजी ५३ वर्षीया जैसरा न्यौपानेमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेकी उनकी बुहारी ३० वर्षीय देवसरा न्यौपाने र ३५ वर्षीया धर्मा न्यौपानेविरुद्ध अमानवीय व्यवहारको मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश विष्टले बुधबार पक्राउ गरिएकी न्यौपानेकी दुवै बुहारीविरुद्ध अमानवीय व्यवहार सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको जानकारी दिए ।  उनकाअनुसार प्रष्टसँग बोल्न नसक्ने जैसरामाथि घरायसी विषयलाई लिएर अभद्र व्यवहार गर्दै दुवै बुहारीले कुटपिट गरेको पाइएको छ । प्रहरीले सामाजिक सञ्जाल फेसबुकमा उनलाई कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि बुधबार दुवैलाई पक्राउ गरेको थियो ।

जैसराको मानसिक सन्तुलन ठीक नभएको दाबी झुठा भएको बताउदै प्रहरीले प्रष्टसँग बोल्न नसक्ने अवस्थाकी भने रहेको जनाएको छ । उनका श्रीमान भने पूर्ण शारीरिक अपाङ्गता भएका व्यक्ति हुन् । प्रहरीलाई दिएको प्रारम्भीक बयानमा दुवै बुहारीहरुले ससुरालाई दुःख दिने गरेकाले कुटपिट गरेको उल्लेख गरेकी छन् ।