अछाममा हजुरआमा कुटेको भिडियो खिच्ने नाती सम्मानित
2022/08/26, 3:11
 
dd

अछाम- आफ्नो हजुरआमामाथि कुटपिट भइरहेको भिडियो खिच्ने नातीलाई अछाम प्रहरीले सम्मान गरेको छ।

पञ्चदेवल विनायक नगरपालिका–६ की ५३ वर्षीया जैसरा न्यौपानेमाथि अभद्र व्यवहार गर्दै कुटपिट गरेको भिडियो खिच्ने ११ वर्षीय दीपेन्द्र न्यौपानेलाई प्रहरीले आज एक कार्यक्रमका बीच सम्मान गरेको छ।

दीपेन्द्रलाई जिल्ला प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रममा सुदूरपश्चित प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री डाक्टर रणबहादुर रावलले सम्मान पत्रले सम्मान गरे।

अछाम प्रहरी प्रमुख डीएसपी नारायण डाँगीले समाजमा लुकेर रहेका घर भित्रका हिंसाका घटनालाई भिडियो खिचेर बाहिर ल्याई घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउनमा महत्वपूर्ण योगदान पुर्‍याएकाले उनलाई सम्मान गरिएको बताए।

डाँगीका अनुसार आफ्नै बुहारी र देउरानीले जैसरालाई लछारपछार गरी शारीरीक तथा मानसिक रुपमा अपमानजनक र अमानवीय ब्यबहार गरेको दीपेन्द्रले खिचेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रहरीले कुटपिटमा संलग्न दुबै महिलालाई पक्राउ गरी कानुनी कारबाहीको प्रक्रियामा लगेको छ।

कुटपिटको घटना भदौ ७ गतेको हो। डाँगीका अनुसार जैसरा राम्रोसँग बोल्न सक्दैनन्।