नजिकिँदै हरितालिका तीजः धनगढी सुनसान, भारतीय बजारमा भीडभाड 
2022/08/28, 1:54
 
ss

धनगढी- तीजका लागि महिलाहरूले गरगहनादेखि आवश्यक कपडा किन्ने गर्छन्। तर, धनगढीका कपडा तथा गरगहना पसलहरूमा भीडभाड छैन। चहलपहल पनि छैन। धनगढीस्थित सुन व्यवसाय गरिरहेका व्यापारी गजेन्द्र सै‌जुले कोभिड महामारी यता सुनचाँदीको व्यापारमा कमी आएको बताए।

‘हिन्दू नारीहरूको महान पर्व तीजमा सुनचाँदीको कारोवार बढ्नुपर्ने हो तर, अहिले फाटफुट रुपमा गरगहना किन्ने व्यक्ति आउँछन’ उनले भने( ‘यो तीजमा सोचेको जस्तो कारोवार भइरहेको छैन।’ उनले कोभिड महामारीका कारण आर्थिक मन्दी भएपछि सुन कारोबारमा सुधार हुन नसकेको बताए।  उनले भने-‘बैंकहरूले ऋण प्रवाह गर्न सकेका छैनन । जग्गा कारोबारको काम पनि रोकिएको छ । मानिससँग आर्थिक अभाव छ। किनमेल गर्नेको संख्यामा पनि घटेको छ।’

सुन व्यवसायीमात्र नभई कपडा व्यापारमा पनि कमी आएको व्यवसायीहरू बताउँछन्। धनगढीमा कपडा व्यापार गरिरहेका राजीव गुप्ताले कपडा पसलमा पनि मानिसहरू चहलपहल नभएको बताए। ‘तीजको समयमा पहिला कपडा पसलहरूमा भीडभाड हुने गर्थ्यो। ग्राहकलाई सम्हाल्नै गाह्रो हुने गर्थ्यो, तर अहिले फाटफुट रुपमा मात्र किनमेल गर्न आउने गरेका छन्’ उनले भने ।  धनगढीमा कपडा र सुन व्यापारीहरू निराश भएपनि यहाँका होटलहरूमा भने चहलपहल बढेको छ। धनगढीका विभिन्न संघरसंस्थाले तीज नजिकिदै गर्दा होटलहरूमा तीज विशेष कार्यक्रमहरू आयोजना गरिरहेका छन् । तीज नजिकिँदै गर्दा दर खुवाउने कार्यक्रमहरू गर्नका लागि धमाधम होटलहरूका हलहरू बुकिङ भईरहेको होटल ईमेजका प्रवन्धक निर्देशक दीप रावतले बताए।

भारतीय बजारमा चहलपहल बढ्यो
हिन्दु महिलाको पर्व तीज नजिकिएसँगै सीमावर्ती भारतीय बजारमा कपडा तथा किराना सामान किनमेल गर्न जानेको भिड बढेको छ । तीज पर्वसँगै हिन्दूहरूका ठूला पर्व दशै–तिहार नजिकिएसँगै कैलालीका विभिन्न स्थानबाट भारतीय बजारमा किनमेल गर्न जानेको भीड बढेको हो ।  कैलालीको धनगढी तथा कञ्चनपुरको पुनर्वास नगरपालिका, बेल्डाँडी, कृष्णपुरका केही वडाका मानिसहरू पर्वका लागि सामाग्रीहरू किनमेल गर्न सीमावर्ती क्षेत्र वनगावामा जाने गरेका छन्।

वनगावामा कपडा व्यापार गरिरहेका विनोद गुप्ता कपडा बिक्री गर्नमा व्यस्त थिए। उनले भने-‘हिन्दुहरूको चाड पर्व नजिकिएसँगै नेपालको बजारभन्दा पनि यहाँका बजारमा चहलपहल बढेको छ।’ उनले अहिले दैनिक पाँच हजार बढी नेपालीहरू सो बजारमा धाउने गरेको बताए। उनले भने-‘अधिकांश ग्राहक अहिले कपडा नै खरिद गर्न आउँछन।’ उनले कपडासँगै दैनिक उपभोग्य सामान दाल, चिनी, प्याज लगायतका तरकारी तथा अन्नहरू पनि खरिद गर्न आउने गरेको बताए।

धनगढीका बजारमा कपडाहरू महंगो हुने भएकाले यहाँका मानिसहरू सो क्षेत्रमा जाने गरेका छन्। व्यापारी विनोदले भने( ‘धनगढीमा सटरको भाडा नै महिनाको ३५ देखि ४० हजार पर्छ। यहाँ केवल मासिक दुई हजार भाडा छ। यहाँ पाउने वस्तु तथा कपडाको मूल्य सस्तो हुनु स्वभाविक हो। त्यसैले नेपालीहरू यो बजारप्रति बढी आकर्षित भइरहेका छन्।’