दार्चुलामा बाढीपहिरोः सेनाको हेलिकोप्टरबाट घाइतेको उद्धार गरिदैं
2022/09/10, 3:30
 
khabarkunj

दार्चुलामा गएराति परेको अविरल वर्षापछिको बाढी र पहिरोमा फसेका घाइतेहरुलाई नेपाली सेनाको हेलिकोप्टरले उद्धार गर्न थालेको छ। जिल्लाको नौगाड गाउँपालिका २ सल्ला गाउँमा आएको बाढीपहिरोमा परेर पाँच जनाको मृत्यु भएको थियो।

गृहमन्त्री बालकृष्ण खाणको निर्देशनपछि सेनाको हेलिकोप्टर बाढीपहिरो प्रभवित क्षेत्रमा पुगेको हो। गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट घटनास्थल पुगेको हेलिकोप्टरले उद्धार गरिरहेको छ। उनका अनुसार अहिले घाइतेलाई उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल खलंगा ल्याउन थालिएको छ।

यस्तै दार्चुला प्रहरीले पनि महाकाली नगरपालिका र नौगाड गाउँपालिकाका विभिन्न स्थानमा पहिरोले ठूलो क्षति पुर्‍याएको जनाएको छ। प्रहरीका अनुसार बाढीपहिरोमा परी ९ जना बेपत्ता भएका छन् भने ८ जना घाइते रहेका छन्। घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर छ।

बाढीपहिरोमा परी बेपत्ता हुनेहरुमा नौगाड गाउँपालिका–१ का ३५ वर्षीया चिमडी ठगुन्ना, सोही ठाउँका १५ वर्षीया महामरी ठगुन्ना नौगाड–२ दल्लेकका ४० वर्षीया मनीराम लुहार, महाकाली नगरपालिका–४ का ४५ वर्षीय मोहन लुहार, सोही ठाउँकी ४० वर्षीया सरस्वती लुहार, महाकाली नगरपालिका–३ डुङरीका ५५ वर्षीय धनसिंह कार्की, उनका जेठा छोरा २० वर्षीय दिपक कार्की, १२ वर्षीय कान्छा छोरा दिनेश कार्की रहेको प्रहरीले जनाएको छ।

यस्तै महाकाली नगरपालिका–२ मुल्लाका ७५ वर्षीया मानमती साहु बेपत्ता भएका छन्। यसअघि प्रहरीले नौगाड गाउँपालिका–२ का अन्दाजी ३२ वर्षीया जानकी ठगुन्ना, १५ वर्षीया धनुली ठगुन्ना र ६८ वर्षीय मोहनराम पार्कीको शव फेला परेको जनाएको थियो। यस्तै महाकाली नगरपालिका–२ का ७७ वर्षीय नन्दराम बोहरा र वडा नम्बर १ सल्लाकी ४३ वर्षीया मानमती कार्कीको मृत्यु भएको प्रहरीले बताएको थियो। 

उद्धार र खोजी कार्य जारी रहेकोले क्षतिको यकिन विवरण प्राप्त हुन बाँकी रहेको प्रहरीले बताएको छ। घटनास्थलमा उद्धार कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ।