दार्चुलामा बाढी पहिरोः लास्कु खोलाले महाकाली नदी थुनियो, सदरमुकाममा थप जोखिम
2022/09/12, 9:23
 
ss

धनगढी-शुक्रबार राति परेको अविरल वर्षाका दार्चुलामा ठूलै जनधनको क्षति भएको छ।  महाकाली नदीमा भारतले बनाएको अस्थायी तटबन्धका कारण दार्चुला सदरमुकाम खलंगामा बाढीले क्षति गरेको स्थानीयले दाबी गरेका छन्।  भारतले नदीको एक सय मिटर बगरभित्र तटबन्ध बनाएका कारण नेपाली भूमिमा महाकालीले कटान गर्न थालेको उनीहरु बताउँछन्। 

वर्षाका कारण लास्कु खोलामा आएको बाढीले महाकाली नदी थुनिदा नेपालतर्फ कटानको जोखिम बढेको छ। महाकालीको बहाव क्षेत्र भारतीय तटबन्धले साँघुरो बनाएपछि नदी थुनिएको स्थानीय चक्रबहादुर बमले बताए।  ‘भारतले महाकाली नदीको बहाव क्षेत्र साँघुरो हुनेगरी निर्माण गरेको तटबन्धले नदी थुनिएको छ’ उनले भने, ‘भारत र नेपाल सरकारका कारण दार्चुला सदरमुकाम खलंगामा सधैंका लागि जोखिम थपिएको छ।’

वर्षाका कारण लास्कु खोलामा आएको बाढीले महाकाली नगरपालिकाको बाङ्गाबगरमा एक दर्जन बढी घर बगाएको छ। अहिले पनि त्यो ठाउँमा घरहरू ढलीरहेको महाकाली नगरपालिकाका उपप्रमुख दुर्गाकुमारी खत्रीले बताईन् ।  ‘लास्कु खोलामा आएको बाढीको कारण महाकाली नदी थुनिएर तटबन्धमाथिबाट महाकाली बगिरहेको छ,’ उनले भने, ‘लास्कु खोलामा आएको बाढीले महाकाली नगरपालिकाका विभिन्न बस्तीसँगको प्रत्यक्ष सम्पर्क समेत टुटाएको छ।’ 

जल तथा मौसम विज्ञान विभागले शुक्रबार दार्चुलामा १२२ मिलिलिटर वर्षा भएको जनाएको छ। जिल्लाको अन्यत्रभन्दा महाकाली नगरपालिका र नौगाड गाउँपालिकामा शुक्रबार बढी वर्षा भएको विभागले बताएको छ।  लास्कु खोलाले महाकाली नदी थुनेपछि दार्चुला सदरमुकाम क्षेत्रमा महाकालीको धार परिवर्तन भएर थप क्षति हुने चिन्ता गरिएको छ। तर महाकालीको पानीको बहाव खोल्ने प्रयास भइरहेको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँदले जनाए । ‘लास्कु खोलामा आएको बाढीले महाकाली नदी थुनिएको छ ।’ उनले भने, ‘सेना, प्रहरी र सशस्त्र प्रहरी लगाएर थुनिएको नदी खुलाउने प्रयास भइरहेको छ।’

अविरल वर्षापछि आएको पहिरो तथा बाढीले महाकाली नगरपालिकामा ६२ घर बगाएको छ। जिल्लाको नौगाड गाउँपालिकामा २९ घरमा क्षति पुगेको छ। यसैगरी वर्षाका कारण दार्चुलामा ५ जनाको मृत्यु, १० जना बेपत्ता भएका छन् भने ८ जना घाइते भएका छन्। बाढी र पहिरोको आर्थिक क्षतिको तथ्याङ्क लिन भने अझै सकिएको छैन।