दार्चुलामा बाढीपहिरो : अझै भेटिएनन् बेपत्ता १० जना
एक सय परिवार प्रभावित
2022/09/13, 11:58
 
दार्चुलामा बाढीपहिरो : अझै भेटिएनन् बेपत्ता १० जना

दार्चुला - दार्चुलामा शुक्रबारको वर्षापछि आएको बाढीपहिरोले बेपत्ता भएका १० जना अझै भेटिएका छैनन्। महाकाली नगरपालिकाका १० जना अझँ नभेटिएका हुन्। बाढीपहिरोले महाकाली नगरपालिका र नौगाड गाउँपालिकामा ठूलोमजनधनको क्षति भएको छ। 

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार बाढीपहिरोमा परेर अहिलेसम्म पाँच जनाको मृत्यु भएको छ भने १० बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक लोकेन्द्र सिंहले महाकालीको पानीको बहाव नघट्दा खोजी कार्यमा समस्या भएको बताए। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोली खोजी कार्यमा खटिएका छन्।

महाकाली नगरपालिका–३ का धनसिंह कार्की, दीपक कार्की, दिनेश कार्की, वडा नम्बर ४ का सरस्वती लुहार, मोहन लुहार, वडा नम्बर २ का मानमति शाहु, वडा नम्बर १ का मञ्जु लुहार, दिनेश लुहार, साजन लुहार र दलजीत लुहार बेपत्ता रहेका छन्। बाढीपहिरोले ६ जनाको मृत्यु भइसकेको छ।

बाढीपहिरोले दार्चुलाका दुई स्थानीय तहका झण्डै एक सय परिवार प्रभावित भएका छन्। बाढिपहिरोमा परि ४२ घर पूर्ण क्षति, नौ घर आंशिक क्षति भएको छ भने ४० घर जोखिममा रहेका छन्।