अपिनाम्पा संरक्षण क्षेत्रको व्यवस्थापन परिषद् २ वर्षदेखि नेतृत्वविहीन
2022/09/14, 6:18
 
ss

दार्चुला- दार्चुला जिल्लाको अपिनाम्पा संरक्षण क्षेत्रको व्यवस्थापन परिषद् २ वर्षदेखि नेतृत्वविहीन भएको छ  । जिल्लाको आधाभन्दा बढी भूभाग समेटिएको अपिनाम्पा संरक्षण क्षेत्र  विगत दुई वर्ष देखी प्रभावकारी रूपमा सञ्चालन हुन सकेको छैन । 

प्राकृतिक स्रोतले भरिपूर्ण त्रिदेशीय सीमामा अवस्थित यो क्षेत्रले जिल्लाको विकासमा सहयोग पुर्‍याउने उद्देश्यले संरक्षण क्षेत्रको व्यवस्थापन परिषद् स्थापना भएको थियो । दुर्लभ वन्यजन्तु र बहुमूल्य जडीबुटीका रूपमा रहेको यार्सागुम्बाका लागी यो क्षेत्र प्रसिद्ध छ । वन्यजन्तुको संरक्षण र यार्चागुम्बु सङ्कलन व्यवस्थापनका लागी अपिनाम्पा संरक्षण परिषद् गठन भए पनि  संरक्षण क्षेत्र घोषणा भएको एक दशक पुग्दा पनि खासै उपलब्धि नगरेको त्यहाँका स्थानीयले बताए ।

यो क्षेत्र वन्यजन्तु र यार्सागुम्बाका लागी मात्र प्रसिद्ध नभएर पर्यापर्यटनको र आम्दानीका हिसाबले समेत  ठुलो सम्भावना बोकेको छ । जिल्लाको राजस्वको ठुलो हिस्सा यो भू–भाग र यहाँबाट निर्यात हुने जडीबुटी तथा वन पैदावारले ओगटेको छ । अपिनाम्पा संरक्षण क्षेत्रको सत्तरी प्रतिशतभन्दा बढी भूभाग मानव बस्तीरहित भएको आकलन गरिन्छ ।

स्थानीय स्रोतको उपयोग गरी स्थानीय बासिन्दाको आयआर्जन गर्ने र यो क्षेत्रमा पाइने वनस्पति र वन्यजन्तुको संरक्षण गर्ने उद्देश्यले संरक्षण क्षेत्र घोषण गरिएको थियो । संरक्षण क्षेत्र घोषणा भएको एक दशक पुगे पनि न स्थानीयको आयआर्जन न संरक्षणनै प्रभावकारी हुन सकेको छ ।

पर्यापर्यटनको ठुलो सम्भावना रहेको हुनाले आम्दानीका हिसाबले जिल्लालाई ठुलो टेवा पुर्‍याउन सक्ने दुँहु गाउँपालिका–३ का प्रेमसिंह कुँवरले बताए । उनले संरक्षण क्षेत्रबाट अव्यवस्थित रूपमा यार्चागुम्बुलगायतका जडीबुटी सङ्कलनबाहेक अन्य चीजको उपयोग गर्न नसकिएको बताए ।