स्वास्थ्य सेवामा सुधार ल्याउने प्रतिबद्धता
2022/09/15, 2:07
 
ss

अछाम-  अत्यावश्यक आधारभूत स्वास्थ्य सेवामा सुधार ल्याउन अभियानकै रूपमा कार्यक्रम लैजान अछाममा सातबुँदे प्रतिबद्धता गरिएको छ ।  जनप्रतिनिधि, सरकारी, सामाजिक क्षेत्रमा संलग्न व्यक्तिले तोकिएका स्वास्थ्य सेवा सेवाग्राहीमैत्री बनाएर सहजै प्रदान गर्नका लागि प्रतिबद्धता जाहेर गरिएको छ । सबै बालबालिकाले खोप पाएको सुनिश्चित गरेर पूर्णखोप सुनिश्चितता घोषणा गर्ने, तोकिएको मापदण्ड पूरा गरेर चारवटा वडा र स्वास्थ्य संस्थालाई पोषणमैत्री घोषणा गर्ने प्रतिबद्धता गरिएको छ ।

सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सेवा, किशोरकिशोरीको यौन तथा प्रजननलाई सेवाग्राहीमैत्री बनाएर गुणस्तर अभिवृद्धि गर्ने प्रतिबद्धता गरिएको छ । क्षयरोगविरुद्धको अभियान गरेर कुनै दुई स्थानीय तह क्षयरोगमुक्त पालिका घोषणा, ज्वरो आएर स्वास्थ्य संस्था आएका सबै बिरामी र गाउँमा रहेका केही व्यक्तिको औलो परीक्षण गरेर निगरानीमा राख्ने प्रतिबद्धता छ। एचआईभी सङ्क्रमितलाई दिइँदै आएको एआरटी सेवा हरेक स्थानीय तहको एक स्वास्थ्य संस्थाबाट उक्त सेवा प्रदान गर्नमा समेत प्रतिबद्धता गरिएको छ । 

स्थानीय तहका जनप्रतिनिधि, प्रशासन र सुरक्षा निकाय, दसवटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख, सामाजिक सङ्घ संस्था र नागरिक समाजमा संलग्न व्यक्तिले प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका छन् । ‘जिल्लामा धेरै स्वास्थ्य समस्यामा काम गर्नु त छँदै छ तर हाललाई सातवटा प्रतिबद्धता गरिएको छ, जसले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सहयोग पुग्छ ।’ स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुङ्गानाले भने । 

मङ्गलसेन नगरपालिकाका प्रमुख पदमबहादुर बोहराले सङ्घ, प्रदेश र स्थानीय तहको प्रभावकारी समन्वय अभावमा स्वास्थ्य क्षेत्रमा अपेक्षित सफलता पाउन नसकेको भनाइ छ । सातबुँदे प्रतिबद्धताअघि आर्थिक वर्षमा २०७८÷७९ को एक वर्षको अवधिमा गरिएका काम र प्रगतिबारे दसवटै स्थानीय तह, दुईवटा अस्पताल र स्वास्थ्य क्षेत्रमा काम गर्ने संस्थाले आ–आफ्नो प्रगति प्रस्तुत गरेका थिए । स्वास्थ्य क्षेत्रमा सहयोग गरेको भन्दै दसवटै स्थानीय तह, दुई अस्पताललाई स्वास्थ्य कार्यालयले सम्मान गरेको छ ।