बेपत्ता भएका १० जनाको अवस्था अझै अज्ञात
2022/09/16, 8:29
 
ss

दार्चुला-  दार्चुलामा भदौ २४ गते राति बाढी र पहिरोमा परी बेपत्ता भएका १० जनाको अवस्था अझै अज्ञात छ । घटना भएको आठ दिन बित्दा पनि बेपत्ता भएकाहरु फेला नपरेको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले बेपत्ता भएकाहरुको खोजीकार्य जारी नै राखेको भए पनि भेटिने आशा मरिसकेको बताएका छन् । शुक्रबार रातिको अविरल वर्षाले दार्चुलामा पाँच जनाको मृत्यु हुनुका साथै १० जना बेपत्ता र आठ जना घाइते भएका थिए ।

बाढीले दुई वटा विद्यालय भवन, डुङरी मन्दिर र विद्युतको पावरहाउस, लास्कु खोलाको एउटा मोटरेबल पुल, विभिन्न स्थानमा गरी चार वटा झोलुङ्गे पुल, बंगाबगरमा पार्किङमा राखेका नौ वटा सवारीसाधन बगाएको थियो । दार्चुलामा हालसम्म १७० घरमा क्षति भएको प्रहरीको तथ्याङ्क छ । 

६६ घर पूर्णरुपमा ध्वस्त भएका छन् । ९७ घर जोखिममा छन् । अन्य ७ वटा घर आंशिक जोखिममा रहेको प्रहरीले जनाएको छ । ठूलो जनधनको क्षति व्यहोरेका बाढीपहिरो पीडितले समयमै राहत नपाएको भन्दै गुनासो गरिरहेका छन् । 

यसैगरी, बाढी पहिरोले ज्यान गुमाएका परिवारलाई प्रदेश सरकारको तर्फबाट प्रति परिवार एक लाख रुपियाँ राहत उपलब्ध गराउने निर्णय भएको छ । प्रदेश सरकारले राहत रकम पठाइसकेको जनाए पनि हालसम्म वितरण हुन सकेको छैन ।  छिट्टै जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसी पीडित परिवारलाई राहत रकम वितरण हुने सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदले जानकारी दिइन् । सङ्घीय सरकारबाट समेत प्रतिमृतकको परिवारलाई प्रशासन कार्यालयमार्फत दुई लाख रुपैयाँ राहत उपलब्ध गराउने कार्यविधि छ ।

एकै घरका एकभन्दा बढीको ज्यान गएमा प्रतिमृतक थप एक लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने सङ्घीय सरकारको कार्यविधि छ । तर हालसम्म सङ्घीय सरकारले दार्चुलाका बाढीपहिरो पीडितलाई विशेष राहत दिने  औपचारिक निर्णय गरेको छैन ।  कार्यविधिअनुसार पाउनुपर्ने रकम पीडितले समयमै नपाउने अवस्था छ । नेपाल सरकारका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन र पीडितसँग भेटघाट गरेर राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

विभिन्न सङ्घ, सङ्गठन र नागरिकहरुले भने बाढीपहिरो पीडितलाई राहत सङ्कलन गरेर वितरण गरिरहेका छन् । बाढीपहिरो पीडितलाई राहत वितरणमा सरकारी पक्षबाट ढिलाइ भइरहेको स्थानीय चक्रबहादुर बमले बताए ।