अछाम पहिरो: घाइते र प्रभावितलाई हेलिकोप्टरबाट उद्धार गर्न गृहमन्त्रीको निर्देशन 
2022/09/17, 7:51
 
dd

गृहमन्त्री बालकृष्ण खाणले लगातारको वर्षापछि अछामका विभिन्न स्थानमा आएको बाढी र पहिरोमा परि घाइते भएकाहरू, प्रभावितको उद्धारका लागि तत्काल हेलिकोप्टर पठाउन गृह प्रशासनलाई निर्देशन दिएका छन्।

गृह सचिव टेकनारायण पाण्डे, सुरक्षा तथा समन्वय महाशाखा प्रमुख फणिन्द्रमणि पोखरेल र विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख प्रदीप कोइरालालाई घाइते तथा प्रभावितको उद्धारका लागि तत्काल हेलिकोप्टरको व्यवस्था गर्न निर्देशन दिएका हुन्।

अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनी र जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायण डाँगीलाई टेलिफोन गरेर घटनाबारे जानकारी लिएका थिए।

उनले प्रजिअ मरासिनी र नायब उपरीक्षक डाँगीलाई सरकारको प्रमुख दायित्व नागरिकको जिउ धनको रक्षा गर्नु भएको भन्दै बाढी र पहिरोमा परि घाइते भएको उद्धार, प्रभावितलाई सुरक्षित स्थानमा सार्न र औषधि उपचार तथा खाद्यान्नको व्यवस्था गर्न कुनै कसुर बाँकी नराख्न र जिल्लामा भएको स्रोत र साधनले अपुग भएमा मन्त्रालयमा तत्काल लेखि पठाउन निर्देशन दिएका हुन्।

अछामको कमलबजार नगरपालिका तथा ढकारी र तुर्माखाँद गाउँपालिकामा गरि अहिलेसम्म १२ जनाको मृत्यु भएको र २० जना घाइते भएको जानकारी आएको प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनीले जानकारी दिए। अहिले पनि वर्षा निरन्तर भइरहेकाले उद्धारमा कठिन भइरहेको प्रजिअ मरासिनीले बताए।