काम गर्न नसक्दा व्यवस्थामाथि प्रश्न उठ्योः मुख्यमन्त्री भट्ट
2022/09/19, 11:10
 
dd

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले जनताको चाहनाअनुसार काम गर्न नसक्दा व्यवस्थामाथि प्रश्न उठेको बताएका छन्। संविधान दिवसका अवसरमा सोमबार धनगढीमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री भट्टले जनताको चाहना अनुसार काम गर्न नसक्दा संविधानको मर्मअनुसार रुपान्तरण नभएको बताएका हुन्। 

मुख्यमन्त्री भट्टले भने, ‘व्यवस्था परिवर्तन भए पनि हाम्रो काम गर्ने शैली पुरानै भयो, पुरानै तरिकाले काम गरेर जनताका चाहना पूरा हुने स्थिति देखिएन, काम गर्ने शैली परिवर्तन हुन जरुरी छ।’ मुख्यमन्त्री भट्टले हजारौंको बलिदानीपछि आएको संविधान कार्यान्वयन गर्न र जनअपेक्षा अनुसार काम गर्न राष्ट्रिय एकता अपरिहार्य रहेको बताए। ‘राष्ट्रिय सहमति भएका कारण मात्रै संविधान जारी भयो,’ मुख्यमन्त्री भट्टले भने, ‘त्यसपछि राजनीतिक सहमति जुट्न सकेको छैन, राष्ट्रिय सहमति बिना संविधानको पूर्ण कार्यान्वयन सम्भव छैन।’

मुख्यमन्त्री भट्टले प्रदेश सरकारले केही गरेन भन्ने आरोपको भने खण्डन गरेका छन्। प्रदेश सरकार बनेपछि गाउँ–गाउँमा विकास भएको र प्रदेश सरकारको काम गाउँमै देखिएको दाबी गरे।  ‘एकात्मक साशन व्यवस्था हुँदा र प्रदेश सरकार बनेपछि के परिवर्तन भयो भन्ने कुरा गाउँमा गएर हेर्दा देखिन्छ,’ उनले भने, ‘सहरमा दुईरचार जनाले कुरा काटेर हुँदैन, परिवर्तन भएको पनि देख्नु पर्दछ।’ प्रदेश सरकार बनेपछि गाउँमा थोरै भए पनि राज्यको उपस्थिति देखिएको उनको भनाइ छ।