सुदूरपश्चिममा सञ्चालनमा आएनन् सुपथ मूल्य पसल
2022/09/19, 4:49
 
ss

धनगढी-  सुदूरपश्चिममा सुपथ मूल्य पसल सञ्चालनमा अन्यौल देखिएको छ । सरकारले दसैँ, तिहार र छठपर्वलाई लक्ष्य गर्दै  हरेक वर्ष असोज १ गतेदेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने गरेको छ ।

यो वर्ष पनि देशभरि नै असोज १ गतेदेखि  सुपथ मूल्य सञ्चालन गर्ने भने पनि सुदूरपश्चिम प्रदेशमा सञ्चालनमा अन्यौल देखिएको हो । सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने भनिए पनि सुदूरपश्चिमका कुनै पनि स्थानमा सञ्चालनमा नआएका साल्ट्रटेडिङग कर्पोरेसन धनगढीप्रदेश कार्यालयका सहायक  रामचन्द्र जोशीले जानकारी दिए । सुपथ मूल्य पसल सञ्चालनका लागि अहिलेसम्म पनि परिपत्र नआएकाले परिपत्रबिना सञ्चालन गर्न नसकिने जनाइएको छ ।

परिपत्र आउनसाथ सुपथ मूल्य पसल सञ्चालनमा आउने सहायक जोशीको भनाइ थियो । विगतका वर्षमा दसैँ, तिहार, छठसहितका चाडपर्वलाई लक्ष्य गरी सुदूरपश्चिमका सात स्थानमा सुपथ मूल्य पसल सञ्चालन हुँदै आएको थियो । चाडपर्वमा त्यस्ता पसलबाट उपभोक्तालाई सहुलियत दरमा खाद्य सामग्री उपलब्ध गराउने उद्देश्य रहेको भए पनि यहाँ सञ्चालनमा नआउँदा समस्या भएको छ ।   

कर्पोरेसनले विगतका वर्षमा कैलालीको धनगढीमा रहेको अञ्चल कार्यालय, अत्तरिया, टीकापुर, कञ्चनपुरको महेन्द्रनगर र बेलौरी, डोटीको दिपायल, डडेल्धुरा र बैतडीको पाटनमा दसैँ, तिहार तथा छठलाई लक्ष्य गरी सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने गरिएको थियो । यस्ता पसलमा बाहिर बजारको भन्दा सहुलियत मूल्यमा चिनी,नून चामलका साथै अन्य खाद्य सामग्री किन्न पाइन्छ ।   उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यो वर्ष असोज १ गतेदेखि कात्तिक १५ गतेसम्म सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने  भनेको थियो ।