सुदूरपश्चिममा ९५ प्रतिशत कोरोना संक्रमित घर र क्वारेन्टिनमा, ५ प्रतिशत मात्रै आईसोलेसनमा
2020/06/26, 8:40
 
korona

सुदूरपश्चिम प्रदेशमा शुक्रबार दुई सय १९ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या एक हजार आठ सय ८६ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, धनगढी प्रयोगशाला र चितवन प्रयोगशालामा भएको परीक्षणमा दुई सय १९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले जनाएको छ ।

प्रदेशमा झण्डै १९ सय जना कोरोना संक्रमित मध्ये पाँच जनाको मृत्यु भईसकेको भएपनि एक सय जनालाई मात्र उपचारका लागि विभिन्न अस्पतालमा राखिएको छ । स्वास्थ्य निर्देशनालय डोटीका अनुसार कोरोना विशेष तोकिएको सेती लगायतका अस्पतालमा स्थापना गरिएको आइसोलेसनमा एक सय जनाको उपचार भईरहेको छ । यो भनेको कुल संक्रमितको ५ प्रतिशत मात्रै हो । ५ प्रतिशत अस्पतालको आईसोलेसनमा उपचार गरिरहँदा ९५ प्रतिशत कोरोना संक्रमित भने घर र क्वारेन्टिनमा वसिरहेका छन् । 

आईसोलेसनमा वसेका संक्रमितमध्ये सबैभन्दा बढी टीकापुर अस्पतालको आईसोलेसनमा ३२ जना रहेका छन् । त्यसैगरी महाकाली अस्पतालको आइसोलेसनमा २२ जना, मालाखेती अस्पतालको आइसोलेसनमा २० जना, सेती प्रादेशिक अस्पताल र अछाम जिल्ला अस्पतालको आइसोलेसनमा १०÷१० जना, जिल्ला अस्पताल डोटीमा तीन जना, बझाङ, दार्चुला र बाजुरा जिल्ला अस्पतालमा एक÷एक जनाको आईसोलेसनमा उपचार भइरहेको छ । अन्यलाई भने स्थानीय तहको आइसोलेसनमा राखिएको दावी स्वास्थ्य निर्देशनालयले गरेको भएपनि अधिकांश संक्रमित होम आइसोलेसनमै बसेका छन् । केही संक्रमित क्वारेन्टिनमा वसेका छन् ।

अहिले सम्म पाँच सय ९९ कोरोना संक्रमित समान्य उपचारपछि घर फर्किएको निर्देशनालयले जनाएको छ । सरकारले नयाँ मापदण्ड जारी गरेपछि उनीहरुको दोस्रो पटक कोरोना परीक्षण भने हुन सकेको छैन । जसका कारण समुदाय स्तरमा संक्रमण फैलिने चिन्ता गरिएको छ  । तर चिकित्सकहरुले भने संक्रमित व्यक्तिले १४ दिनपछि कोरोना अरुलाई सार्न नसक्ने बताउँदै आएका छन ।  नयाँ मापदण्ड अनुसार लक्षण देखिएका संक्रमितलाई मात्र अस्पतालको आइसोलेसनमा राखिदै आएको छ ।