सुदूरपश्चिममा निर्वाचन : कैलाली–४, दार्चुला र बाजुरामा धेरैको चासो
2022/10/14, 11:46
 
सुदूरपश्चिममा निर्वाचन : कैलाली–४, दार्चुला र बाजुरामा धेरैको चासो

धनगढी - प्रतिनिधिसभातर्फ १६ निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिम प्रदेशका ‘हेबीवेट’ नेताहरूबीचको प्रतिस्पर्धाले यहाँका तीन क्षेत्रमा धेरैको चासो छ । रोचक प्रतिस्पर्धा हुने क्षेत्रहरूमध्ये कैलाली ४, दार्चुला र बाजुराको प्रतिस्पर्धाले धेरैको चासो बढाउने धेरेको अनुमान छ । एमालेका युवा नेता विनय शाहको विचारमा पनि ती तीनवटा निर्वाचन क्षेत्रका प्रतिस्पर्धाहरू रोचक हुन सक्छन् ।

कैलाली ४ मा एमालेका सचिव, पूर्वमन्त्री तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट र पूर्वमन्त्री एवं कांग्रेसका प्रदेश सभापति तथा वीरबहादुर बलायर आमनेसामने भएका छन् । सभापति देउवाका निकट पात्र मानिने बलायर आफ्नो पूर्ववत् निर्वाचन क्षेत्र डोटी छाडेर कैलाली झरेका हुन् । सभापति देउवालाई डोटीमा एकीकृत समाजवादीका नेता प्रेम आलेलाई व्यवस्थापन गर्नैपर्ने बाध्यता आइलागेपछि बलायरलाई कैलाली ४ पठाए छन् । उनले भट्टसँगको प्रतिस्पर्धा आफैंले रोजेका हुन् । कैलालीका दुई वटा पालिकाहरू गोदावरी र गौरीगंगा पर्ने उक्त निर्वाचन क्षेत्रमा गौरीगंगा माओवादी केन्द्र र गोदावरी कांग्रेसले जितेको छ ।

माओवादी केन्द्र त्यागेर एमालेमा गएका भट्ट उक्त क्षेत्रबाट चौथो पटक चुनाव लड्न लागेका हुन् । उता बलायर पनि डोटीबाट ३ पटक चुनावमा लडिसकेका छन् । चौथो पटकको निर्वाचन लड्न उनी कैलाली झरेका हन् । यसअघि माओवादी केन्द्र रहेकै बेला भट्ट दुई पटक विजयी भएका थिए । बलायर एक पटक विजयी भएका थिए । दुवै जना यसअघि मन्त्री भइसककेका अनुहार हुन् । दुवै नेता डोटी पुर्ख्यौली भएका मतदाताको बाहुल्य रहेको कैलाली ४ मा डोटी पृष्ठभूमिकै दुवै नेता कसले कति मतदाता रिझाउन सक्छन्, त्यसैमा जित निर्भर हुने आकलन गरिएको छ ।

बाजुरा रोचक प्रतिस्पर्धा हुन सक्ने अर्को चुनावी क्षेत्र हो, जहाँ कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे र एमालेका स्थायी कमिटी सदस्य कर्ण थापा आमनेसामने भएका छन् । थापा यसअघि पनि पटकपटक बाजुराबाट चुनाव लड्दै आएका नेता हुन् । थापा ०७० को संविधानसभामा जितेर मन्त्रीसमेत भएका थिए ।

यता, यसअघि संविधानसभामा समानुपातिक र राष्ट्रिय सभा सदस्यमा गरी दुई पटक सांसद भएका पाण्डे भने पहिलो पटक प्रत्यक्ष चुनाव उनै थापासँग लड्दै छन् । सुदूरपश्चिममा अर्को रोचक प्रतिस्पर्धा हुन सक्ने निर्वाचन क्षेत्र हो दार्चुला । एउटा मात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा कांग्रेसका दिलेन्द्रप्रसाद बडू र एमालेका गणेशसिंह ठगुन्ना निरन्तरका प्रतिस्पर्धी हुन् । कांग्रेसका युवा नेता सुमन केसीको विचारमा यी तीन वटा ठाउँको चुनावी प्रतिस्पर्धा रोचक हुनेछ ।