एमाले डडेल्धुराले तोड्यो काँग्रेस (बीपी) सँगको तालमेल
2022/10/15, 11:57
 
एमाले डडेल्धुराले तोड्यो काँग्रेस (बीपी) सँगको तालमेल

डडेल्धुरा - नेकपा एमाले डडेल्धुराले नेपाली काँग्रेस (बीपी) संग गरेको चुनावी तालमेल तोडेको छ। सहमतिविपरीत बीपी काँग्रेसले डडेल्धुराको प्रदेश निर्वाचन क्षेत्र नम्बर २ मा एमाले उम्मेदवारलाई नभई स्वतन्त्र उम्मेदवारलाई समर्थन गरेको भन्दै चुनावी तालमेल भंग गरिएको हो।

आज बसेको जिल्ला कमिटिको पूर्ण बैठकले यस्तो निर्णय गरेको प्रेश विज्ञप्ती जारी गर्दै जानकारी दिइएको छ। प्रतिनिधिसभामा बीपी काँग्रेसका कर्ण मल्ल र प्रदेशसभा १ मा एमालेका पठानसिंह बोहरा र प्रदेशसभा २ मा एमालेकै उम्मेदवार गजेन्द्र शाहीलाई समर्थन गर्ने गरी एमाले र बीपी काँग्रेसबीच सहमति भएको थियो।

तर बीपी काँग्रेसले प्रदेशसभा २ मा स्वतन्त्र उम्मेदवारसंग तालमेल गरेपछि सहमति तोड्न बाध्य भएको एमाले डडेल्धुराका जिल्ला अध्यक्ष प्रकासबहादुर साउद र सचिव गजेन्द्र शाहीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ। विज्ञप्तीमा एमाले एकल रुपमा चुनावमा जाने पनि उल्लेख छ।

यसअघि बीपी काँग्रेसंग तालमेल गर्नकै लागि एमाले अध्यक्ष केपी शर्मा ओलीले डडेल्धुरामा प्रतिनिधिसभातर्फ उम्मेदवारी दर्ता गराएका चक्रप्रसाद स्नेहीको उम्मेदवारी फिर्ता गराएका थिए। डडेल्धुरामा प्रतिनिधिसभातर्फ प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासहित ८ जना उम्मेदवार छन्।