सुदूरपश्चिममा नौ पूर्वमन्त्रीहरु पराजित
2022/11/27, 9:16
 
ss

संघीय सरकारका मन्त्री भइसकेका पाँच जना पूर्वमन्त्रीहरु कैलालीमा चुनाव हारेका छन् । गत हप्ता भएको प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा उनीहरुले पराजय भएका हुन ।

पराजित हुनेमा पूर्वमन्त्रीहरु लेखराज भट्ट, गौरीशंकर चौधरी, रामजनम चौधरी, नारदमुनि राना र पुष्करनाथ ओझा रहेका छन् । विभिन्न निर्वाचन क्षेत्रमा छ जना पूर्वमन्त्रीहरु चुनाव लडेकोमा पाँच जना असफल भएका हुन । पूर्वमन्त्री बीरबहादुर बलायर मात्रै कैलाली निर्वाचन क्षेत्र नं ४ बाट विजयी भए ।

बलायरले अर्का पूर्वमन्त्री लेखराज भट्टलाई उनलकै मैदानमा पराजित गरे । दुई पटक निर्वाचन जितेका भट्टको संसदीय यात्रा रोकिएको छ । यसअघि, भट्टले २०६४ मा संविधान सभा सदस्य र २०७४ मा प्रतिनिधि सभा सदस्यको निर्वाचनमा जित हासिल गरेका थिए ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा भट्ट श्रम तथा यातायात मन्त्री भएका थिए । यसैगरी केपी ओली नेतृत्वको सरकारमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बनेका थिए । यस पटकको निर्वाचनमा उनी तीन हजार ५८४ मतान्तरले पूर्वमन्त्री बलायरसंग पराजित भए ।पराजित भट्टले २२ हजार ५८७ मत प्राप्त गर्दा विजयी बलायरले २६ हजार १७१ मत प्राप्त गरे ।  

यसैगरी, कैलाली क्षेत्र नं १ मा पूर्वमन्त्री रामजनम चौधरी अत्यधिक मतान्तरले पराजित भएका छन् । उनलाई १२ हजार ३२३ मतान्तरले नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले पराजित गरिन । पराजित चौधरीले १८ हजार ८१ मत पाउँदा विजयी चौधरीले ३० हजार ४०४ मत पाए । 

राजनीति तथा चुनावी रणनीतिमा चतुर मानिने चौधरी २०४८ सालदेखि निरन्तर टिकट पाएर चुनाव लड्दै आएका छन् । उनले २०४८, २०५१, २०५६ र २०७० को निर्वाचन जितेका थिए । २०७४ देखि भने उनको लालकिल्ला भत्किएको छ । चौधरी २०७४ मा कैलाली क्षेत्र नं ३ मा पराजित भएका थिए । यसपटक क्षेत्र नं १ मा पराजित भएका छन् । चौधरी सामान्य प्रशासन सहायक मन्त्री, शिक्षा सहायक मन्त्री, भूमि सुधार राज्यमन्त्री र स्वास्थ्यमन्त्री भएका थिए । 

त्यस्तै, कैलाली क्षेत्र नं ३ मा पूर्वमन्त्री गौरीशंकर चौधरी प्रतिनिधि सभा सदस्यको निर्वाचनमा हार व्यहोरेका छन् । नौ हजार ८७४ मत प्राप्त गरेर उनले तेस्रो स्थानमा चित्त बझाए । सो निर्वाचन क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी विजयी भए । पूर्व माओवादी गौरीशंकर यस पटक नेकपा एमालेबाट चुनाव लडेका थिए । उनी कृषि र श्रम, रोजगार तथा सामाजिक सुरक्षा गरेर दुई पटक मन्त्री भइसकेका छन् । 

चौधरीले तत्कालीन माओवादी पार्टीबाट २०७० को संविधान सभाको निर्वाचन कैलाली क्षेत्र न. ४ र २०७४ को प्रतिनिधि सभा सदस्यको निर्वाचन क्षेत्र नं. ३ बाट जितेका थिए । त्यस्तै, क्षे नं। ५ मा दुई पूर्वमन्त्रीहरु पराजित भएका छन् । पूर्वमन्त्रीद्वय नारदमुनि राना र पुष्करनाथ ओझा पराजित भएका हुन । पूर्व वन तथा वातावरणमन्त्री रहेका राना नेपाली कांग्रेसका डिल्लीराज पन्तसंग एक हजार ७४ मतान्तरले पराजित भए । पराजित रानाले २० हजार तीन सय १८ मत प्राप्त गरे । विजयी पन्तले भने २१ हजार ३९२ मत पाए । आठ हजार ३४९ मत पाएका ओझाले तेस्रो स्थानमा चित्त बुझाए । 

रानाले यसअघि, २०७४ को निर्वाचन यहि क्षेत्रबाट जितेका थिए । नेपाली कांग्रेसका नेतृ डा. आरजु राणा देउवालाई पराजित गरेर उनी चर्चामा आएका थिए । यसैगरी, पूर्व राज्यमन्त्री ओझाले २०५६ आमनिर्वाचन क्षेत्र नं ३ बाट जितेका थिए । २०७० को उपनिर्वाचन भने उनले क्षेत्र नं ५ बाट जितेका थिए । डडेल्धुरा र कैलाली–५ मा चुनाव जित्नु भएका नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले कैलालीलाई छोडेपछि उपनिर्वाचन भएको थियो। 

कैलालीमा सुदूरपश्चिम प्रदेशका दुई जना बहालवाला मन्त्रीले पनि प्रदेश सभा सदस्यतर्फ चुनाव लडेका थिए । जसमध्ये एक जनाको जित र एक जनाको हार भएको छ । नेकपा एकीकृत समाजवादीका नेतासमेत रहेका सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारी कैलाली–४ प्रदेश सभा क बाट पुनः निर्वाचित भएका छन् । तर, आर्थिक मामिला तथा कानूनमन्त्री डा। रणबहादुर रावल भने पराजित भएका छन् । कैलाली–१ प्रदेश सभा ख मा उनलाई नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीले पराजित गरे ।