फर्जी मत खसाएको उजुरीपछि बाजुरामा मतगणना अनिश्चित
2022/11/27, 3:29
 
ss

बाजुरामा मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मतगणना अनिश्चित बनेको छ। जिल्लाका विभिन्न मतदान केन्द्रमा नेपाली कांग्रेस र नेकपा ९एमाले० का कार्यकर्ताले बुथ कब्जा गरी फर्जी मत खसाएको निर्वाचन आयोगमा उजुरी परेपछि मतगणना अनिश्चित बनेको हो।

निर्वाचनका बेला एमालेले आफ्नो पहुँच भएको मतदान केन्द्रमा बुथ कब्जा गर्दै मतदानमा सहभागी नभएका र विदेश गएका तथा मृत्यु भएकाको समेत मत हालेको आरोपसहित कांग्रेसले पाँच मतदानस्थलका १७ मतदान केन्द्रमा पुनः निर्वाचन गर्न माग गर्दै उजुरी दिएको छ।

यस्तै नेपाली कांग्रेसको पहुँच भएको मतदान केन्द्रमा कुथ कब्जा गरी विदेश भएका, जागिरको सिलसिलामा जिल्ला बाहिर रहेका र मृत्यु भएकाको समेत मत हालेको आरोपमा एमालेले पनि १७ मतदान केन्द्रमा पुनः निर्वाचनको माग गर्दै आयोगमा उजुरी दिएको छ। कांग्रेस र एमालेले पुनः निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुरामा उजुरी दिएपछि आयोगले बनाएको छानविन समिति टोली बाजुरामा पुगेको छ।

टोलीले जिल्लाका सुरक्षाकर्मी, मतदान अधिकृत र राजनीतिक दलसँग छलफल तथा सुझाव सङ्कलन गरेको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ। निर्वाचनमा दलका कार्यकर्ताबीच भएको विवादका कारण आयोगमा दलहरूले कुथ कब्जा गरेको आरोपसहित उजुरी दिएपछि छानविनका लागि टोली जिल्लामा आएको जिल्ला निर्वाचन कार्यालय बाजुराका निर्वाचन अधिकारी नवराज अवस्थीले बताए। टोलीले जिल्लामा विभिन्न निकायसँग सुझाव सङ्कलन गरेर आज काठमाडौँ फर्किने निर्वाचन अधिकारी अवस्थीले बताए।

यस्तै मुख्य निर्वाचन अधिकृतको कार्यालय भने मतगणनाका लागि आयोगको निर्णयको पर्खाइमा रहेको छ।