बाजुराका विद्यार्थी नेता अयडीको हत्या आरोपमा थप २ जना पक्राउ
2022/11/30, 4:17
 
ss

बाजुराका विद्यार्थी नेता चेतनदीप अयडीको हत्या आरोपमा थप २ जना पक्राउ परेका छन् ।

गत बिहीबार दुई जनालाई पक्राउ गरेको प्रहरीले मंगलबार थप २ जनालाई पक्राउ गरेको हो ।

त्रिवेणी नगरपालिका–७ मालाकोटका ३२ वर्षीय चेतनदीप अयडीको कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा उनीहरु पक्राउ परेका हुन ।

उनीहरुको परिचय भने प्रहरीले खुलाएको छैन । अनुसन्धानकै क्रममा रहेकाले परिचय खुलाउन नमिल्ने जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय ल्याइएको र थप अनुसन्धान कार्य भइरहेको प्रहरीले बताएको छ । मृतकका आफन्तले २२ जनाका नाममा किटानी जाहेरी दिएका छन् ।

मंसिर ४ गते मतदान गरी घर फर्किने क्रममा सोही नगरपालिका बाजपानीमा कुटपिट हुँदा गम्भीर घाइते भएका अयडीको उपचारका लागि बयलपाटा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।