कैलालीमा यी उम्मेदवारले जोगाउन सकेनन् जमानत
2022/12/02, 2:43
 
ss

कैलालीमा प्रतिनिधि सभा सदस्यका ३१ जना उम्मेदवारको जमानत जफत भएको छ । पाँच वटा सिटका लागि ४८ जनाले उम्मेदवारी दिएकोमा जम्मा १७ जना उम्मेदवारलेमात्रै आफ्नो जमानत सुरक्षित गर्न सकेका छन् । जमानत सुरक्षित गर्नेमा पाँच जना विजयी उम्मेदवारसहित पाँच जना निकटतम् प्रतिद्वन्द्वी र सात जना अरु रहेका छन् ।

प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिंदा हरेक उम्मेदवारले १० हजार रुपैयाँ धरौटी राखेका थिए । उनीहरुले आफ्नो जमानत सुरक्षित गर्नका लागि कुल सदर मतको १० प्रतिशत मत ल्याउनु पर्ने थियो । तर, सदर मतको १० प्रतिशत पनि भोट नपाएपछि ३१ जनाको जमानत जफत भएको हो । जमानत सुरक्षित गर्न नसक्नेमा ठूलो दल नेकपा (एमाले) देखि साना दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवार रहेका छन् । 

निर्वाचन क्षेत्र नं. १ मा सबैभन्दा नौ जनाको जमानत जफत भएको छ । जम्मा ६० हजार ८७८ सदर मत रहेको सो निर्वाचन क्षेत्रमा उम्मेदवारले जमानत जोगाउनका लागि छ हजार ८७ मत कटाउनु पर्ने थियो । सो निर्वाचन क्षेत्रमा मुलुककै दोस्रो ठूलो दल नेकपा (एमाले) का उम्मेदवार एवम् टीकापुर नगरपालिकाका पूर्व मेयर तपेन्द्र रावलको पनि जमानत जफत भएको छ । तेस्रो स्थानमा चित्त बुझाएका उनले पाँच हजार ९१० मत प्राप्त गरे ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका लोकेन्द्र कुँवर (तीन हजार ६४८ मत), राष्ट्रिय स्वतन्त्र पार्टीका टंकप्रसाद जैशी (एक हजार ८६९ मत), स्वतन्त्र ललितबहादुर थापा (३६३ मत), स्वतन्त्र विजयसिंह मयाल (२३० मत) को जमानत जफत भएको छ । यसैगरी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका भोजबहादुर विश्वकर्मा (१२२ मत), नेपाल मजदुर किसान पार्टीका धनबहादुर मगर (१०७ मत), नेपालका लागि नेपाली पार्टीका मानबहादुर चौधरी (९० मत) र राष्ट्रिय जनमुक्ति पार्टीका तिलकबहादुर शाही (५४ मत) को जमानत जफत भएको छ ।

क्षेत्र नं. २ मा राप्रपाका भरतसिंह बिसी (दुई हजार ७८४ मत), नेमकिपाका रमेशकुमार रावल (३१८ मत), मंगोल नेशनल अर्गनाइजेशनका पदमबहादुर बुढा मगर (२१० मत) को जमानत जफत भएको छ । यसैगरी, नेपाल कम्युनिष्ट पार्टी समाजवादीका शेखर शर्मा (१३१ मत), नेपाल लोकतान्त्रिक पार्टीका देशराम चौधरी (१०४ मत) र लोसपाका कमलेशकुमार चौधरी (४८ मत) को जमानत जफत भएको छ । कुल ५६ हजार ९६५ मत सदर भएको यो निर्वाचन क्षेत्रमा जमानत जोगाउनका लागि उम्मेदवारले पाँच हजार ६९६ भोट प्राप्त गर्नु पर्ने थियो । 

क्षेत्र नं. ३ मा नेपाल कम्युनिष्ट पार्टी माक्सवादी लेनिनवादीका परेकबहादुर रावल (९९० मत), स्वतन्त्र नविनकुमार बोहरा (४८४ मत), स्वतन्त्र रमेश आचार्य (२९६ मत) र नेमकिपाका गंगादेवी पौडेल (१६१ मत) को जमानत जफत भएको छ । ५९ हजार ७१९ मत सदर भएको सो निर्वाचन क्षेत्रमा उम्मेदवारले जमानत जोगाउनका लागि पाँच हजार ९७१ मत प्राप्त गर्नु पर्ने थियो। 

क्षेत्र नं. ४ मा छ जना उम्मेदवारको जमानत जफत भएको छ । जमानत गुमाउनेमा राष्ट्रिय स्वतन्त्र पार्टीका गोविन्दप्रसाद भट्ट (दुई हजार २३० मत), राप्रपाका जयबहादुर धामी (एक हजार ४७०), मौलिक जरोकिलो पार्टीका चेतराज साउँद (१९९ मत) रहनु भएको छ । यसैगरी, स्वतन्त्र मेखराज जोशी (१२६ मत), नेमकिपाका सीताराम पण्डिल (६१ मत) र जनता प्रगतिशील पार्टी नेपालका मोहनदेव मिश्र (४८ मत) को पनि जमानत गुमेको छ । ५९ हजार २३३ मत सदर भएको यो निर्वाचन क्षेत्रमा पाँच हजार ९२३ सम्म मत पाएका उम्मेदवारको जमानत जोगिएको छ । 

यस्तै, क्षेत्र नं. ५ मा पनि छ जना उम्मेदवारको जमानत जफत भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका इश्वरी विष्ट (तीन हजार ४०५ मत), स्वतन्त्र सत्यराज उपाध्याय (२९० मत), लोसपाका दानबहादुर विश्वकर्मा (२६४ मत) ले आफ्नो जमानत सुरक्षित गर्न सक्नू भएन । यसैगरी, स्वतन्त्र रामबहादुर सिंह (१२९ मत), स्वतन्त्र गगनबहादुर धामी (११७ मत) र नेमकिपाका नन्दाकुमारी दर्लामीमगर (राना) (४२ मत) को पनि जमानत जफत भएको छ ।

कुल खसेकोमध्ये ६१ हजार ७६६ मत सदर भएको यो निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा सदस्यका उम्मेदवारले आफ्नो जमानत जोगाउनका लागि छ हजार १७६ सम्म मत प्राप्त गर्नु पर्ने थियो । कुल सदर मतको १० प्रतिशत भोट प्राप्त गर्न नसकेका सबै उम्मेदवारका जमानत जफत भएकोप्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टले बताए । 

कैलालीको निर्वाच क्षेत्र नं. १ बाट नागरिक उन्मुक्ति पार्टीका रन्जिता श्रेष्ठ चौधरी, २ बाट सोही पार्टीकै अरुण चौधरी, ३ बाट नागरिक उन्मुक्तिकै गंगाराम चौधरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । यसैगरी, क्षेत्र नं. ४ बाट नेपाली कांग्रेसका वीरबहादुर बलायर र ५ बाट सोही पार्टीकै डिल्लीराज पन्त निर्वाचित भएका छन् ।