धनगढीमा विद्यार्थीको आन्दोलनमा बल प्रयोग गरेको प्रहरीद्धारा स्वीकार
2022/12/02, 7:05
 
dd

धनगढीमा विद्यार्थीको आन्दोलनमा जिल्ला प्रहरी कार्यालय कैलालीले बल प्रयोग गरेको स्वीकार गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले एक विज्ञप्ति जारी गर्दै विद्यार्थीमाथि बल प्रयोग गरेको स्वीकार गरेका छन्।

उनले विज्ञप्तिमा निषेधाज्ञा तोडेर विद्यार्थीले आन्दोलन गर्न खोजेपछि बल प्रयोग गरिएको जनाएका छन्। हिजो बिहान सडक कालोपत्रे गरिरहेको बेला ग्रेडरले ठक्कर दिएर १५ वर्षीया चेतना साउँदको मृत्यु भएको थियो। धनगढीकै पञ्चोदय कक्षा ८ मा अध्ययनरत साउदको मृत्यु पछि विद्यार्थीले चालकलाई कारबाहीको माग गर्दै आन्दोलन गरिरहेका थिए।

यसैबीच आज प्रहरीले २३ जनालाई पक्राउ गर्नुको साथै ३७ राउन्ड अश्रुयास्य प्रहार गरेको थियो। विद्यार्थीको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेको आरोप लागेपछि त्यसको बचाउन गर्दै उच्छृंखल गतिविधि रोक्न सामान्य बल प्रयोग गरिएको प्रहरीले जनाएको छ।

विज्ञप्तिमा चालकलाई कारबाही गर्ने र अनुसन्धान प्रक्रिया अघि बढाउने समेत उल्लेख गरिएको छ। निषेधाज्ञामा भेला नहुन पनि विज्ञप्तिमा आग्रह गरिएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीले हिजो साँझ ७ बजेदेखि धनगढीका विभिन्न स्थानहरूमा अर्को सूचना जारी नहुँदा सम्मको लागि भन्दै निषेधाज्ञा जारी गरेको छ।

यस्तै अहिले चेतनाका आफन्त र प्रहरी प्रशासनको सहमतिपछि शव बुझिएको छ। बालिकालाई ठक्कर दिने कालिका कन्सट्रक्सनको ना १ क ९७५ नम्बरको ग्रेडरका चालक भरतपुर महानगरपालिका २८ का २७ वर्षीय बिकल कुमालविरूद्व किटानी जाहेरी दर्ता गरेपछि पीडित परिवारले शव बुझेका हुन्। चालकमाथि सवारी ज्यान सम्बन्धी मुद्दा दर्ता गरिएको र ४ दिन म्याद थप गरेर घटनाको अनुसन्धान अगाडि बढाउने सहमति गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।