धनगढीमा मृतकका आफन्तले गरे चालक र निर्माण कम्पनीका सञ्चालकविरूद्ध मुद्दा दर्ता
2022/12/02, 7:12
 
ss

धनगढीमा ग्रेडरले च्यापेर स्कुले बालिकाको ज्यान गएपछि मृतकका आफन्तले चालक र निर्माण कम्पनीका सञ्चालकविरूद्ध ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा हालेका छन्। मृतक बालिकाका बुवाले चालक र कम्पनी सञ्चालकका नाममा मुद्दा दर्ता भएको बताए। 

सो निवेदनका आधारमा प्रहरीले कानुनी प्रक्रियाबाट न्याय दिनुपर्ने माग परिवारको छ। चेतनाका आफन्तको किटानी जाहेरी प्रहरीले दर्ता गरेर अनुसन्धान गर्ने बताएपछि शव बुझिएको छ। कानुनी प्रक्रियामा प्रहरीले सहयोग नगरे पुनस् सडकमै आउने परिवारको भनाइ छ। 

पञ्चोदय माध्यमिक विद्यालयमा कक्षा ८ मा पढ्ने चेतना साउदको बिहीबार बिहान स्कुल जाने क्रममा ग्रेडरले च्यापेर मृत्यु भएको थियो। त्यसपछि सुरू भएको आन्दोलन दोस्रो दिन पनि जारी रह्यो। यस क्रममा प्रहरीले शुक्रबार दिउँसो दर्जन बढी सेल अश्रुग्यास प्रहार गरेको छ। 

विद्यार्थीको हुललाई तितरवितर पार्न प्रहरीले बल प्रयोग गरेको थियो भने जवाफमा विद्यार्थीले ढुंगा प्रहार गरेपछि केहीबेर तनाव सृजना भएको थियो। जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढीमा जारी गरेको निषेध आदेश भोलि शनिबार बेलुका ४ बजेदेखि हटाउने भएको छ। एक सूचना जारी गर्दै प्रशासनले यस्तो जानकारी दिएको हो।

साउदको मृत्यु भएपछि सुरू भएको आन्दोलनले उग्र रूप लिन नदिन निषेध आदेश जारी गरिएको थियो। आदेश अनुसार बिहीबार बेलुका ७ बजेदेखि जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय, घटनास्थल र मुख्य बजार क्षेत्र समेटेर चार किल्ला तोकी सोभित्र पाँच जनाभन्दा बढी भेला हुन रोक लगाइएको थियो।

बालिकालाई ठक्कर दिने कालिका कन्स्ट्रक्सनको ना १ क ९७५ नम्बरको ग्रेडरका चालक भरतपुर महानगरपालिका २८ का २७ वर्षीय बिकल कुमाल छन्। चालक र कन्स्ट्रक्सनका सञ्चालकमाथि सवारी ज्यानसम्बन्धी मुद्दा दर्ता गरिएको र ४ दिन म्याद थप गरेर घटनाको अनुसन्धान अगाडि बढाउने सहमति गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।