ग्रेडरसँगै कुल्चिएको चेतनाको नर्स बन्ने सपना
2022/12/02, 7:14
 
ss

गाउँका दिदीहरु पनि नर्स थिए । अस्पताल जादा होस् या सामाजिक सञ्जालमा नर्सले चिटिक्क सेतो लुगा लगाएर बिरामीको सेवा गरेको उनले देखेकी थिइन् । त्यही भएर उनले सोचेकी थिइन्, ‘ठूलो भएर म पनि यस्तै नर्स बन्छु, अनि बिरामीको सेवा गर्छु ।’

चेतना साउँद धनगढी उपमहानगरपालिका ५ तारानगरमा परिवारसँगै बस्थिन । नजिकैको पञ्चोदयमा माध्यामिक विद्यालयमा कक्षा ८ कक्षामा अध्ययनरत् थिइन् । पढाई सन्तोषजक थियो । तर बिहीबार बिहानको एक ग्रेडरले उनीसँगै उनको नर्स बन्ने सपना पनि कुल्चिदियो । 

‘सबै शिक्षक तथा साथीभाईसँग मिलनसार व्यवहार गर्थिन,’ शिक्षक सुरेन्द्र जोशीले निराशभावमा भने, ‘के बन्ने भन्दा ‘नर्स’ भन्थिन । समयमै गृहकार्य पनि गर्थिन । तर के गर्ने राम्रो मान्छेलाई धर्तीमा ठाउँ हुँदैन भन्थे आज त्यस्तै लागिरहेको छ । उनको मृत्युको खबर पत्याउँनै सकिरहेको छैन । उनी आँखा वरिपरि घुम्दैछिन् ।’

घरबाट विद्यालय नजिकै पुगेकी थिइन । हसनपुर डिभोटीचोक देखि हसनपुर पिपल्लचौतारा सड्क निर्माणमा क्रममा प्रयोग भएको ग्रेडरले सुरुमा उनलाई ठक्कर दियो । उनी उठ्ने प्रयासमा रहँदारहँदै ग्रेडरले कुल्चिएको स्थानीय बताउँदै आएका छन् । घटनास्थलमै उनको ज्यान गयो ।

त्यसबाट आक्रोशित विद्यार्थी र स्थानीयले बाटो बन्द गर्दै नाराबाजी गरेका थिए । विद्यार्थीहरु धनगढी बजार, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय कैलाली अगाडि समेत आन्दोलनमा उत्रिएपछि धनगढीमा निषेधाज्ञा नै घोषणा गर्नुपरेको छ । शुक्रबार दिउँसो भने आफन्त र प्रशासनबीच सहमति भएको छ । आफन्तले ग्रेडर चालकविरुद्ध सवारी ज्यान मुद्दा दर्ता गराएका छन् । प्रहरीलेघटनाको अनुसन्धान अगाडि बढाएको छ ।