सुदूरपश्चिम प्रदेशसभा व्यवस्थापनमा दाताको सहयोग, भएका उपकरण हटाएर त्यसैमा २० लाख खर्च
2022/12/03, 1:53
 
सुदूरपश्चिम प्रदेशसभा व्यवस्थापनमा दाताको सहयोग, भएका उपकरण हटाएर त्यसैमा २० लाख खर्च

कैलाली  सुदूरपश्चिम प्रदेश सभामा भवनमा अहिले धमाधम भित्री व्यवस्थापनको काम भइरहेको छ । अघिल्लो सांसदहरूले प्रयोग गरेका माइकहरू हटाएर नयाँ सांसदहरूलाई नयाँ माइक राखिएको छ ।

नयाँ सांसदहरूलाई नयाँ माइक मात्रै होइन उनीहरुको लागि नयाँ टेबल पनि राखिएको छ । पुराना टेबल अहिले थन्काइएको छ । प्रदेशसभा सदस्यको लागि मात्र होइन सभामुख र सचिव बस्ने स्थानलाई पनि चिटिक्क पारिँदै छ ।

प्रदेश सभा सचिवालयका कर्मचारीहरू यो काममा खटिएको भएपनि यसको खर्च भने प्रदेश सभा वा प्रदेश सरकारले गरिरहेको छैन । त्यसो भए कसले गरिरहेको त छ ?

नीति निर्माण गर्ने स्थानको व्यवस्थापनमा अहिले दाता निकायले खर्च गरिरहेको छ । पुरानै भइरहेका उपकरण र फर्निचर हटाएर नयाँ राखिँदै छ ।

युएनडिपीको आर्थिक सहयोगमा सञ्चालित संसद् सहयोग परियोजना मार्फत सुदूरपश्चिम प्रदेश सभामा धमाधम व्यवस्थापनको कामहरू भइरहेका छन्। युएनडिपीले अघिल्लो पटक लगानी गरेर तयार गरेका उपकरणहरू हटाएर फेरि त्यहि उपकरणका लागि आर्थिक सहयोग गरेको छ ।

यसअघि प्रदेश सभा सुरु भए लगत्तै प्रदेश सभाकै लगानीमा जडान भएका माइकहरू हटाएर युएनडिपीले डिजिटल माइक जडान गरेको थियो । अहिले फेरि पुरानै शैलीको माइक जडान सुरु गरेको छ ।

आफ्नै पुरानो लगानीमा रहेका माइकहरू हटाएर ३२ वटा नयाँ माइकहरू राखिएका छन् । रोष्टममा २ वटा सभामुखको स्थानमा २ वटा र प्रदेश सभा सदस्यहरूको स्थानमा २८ वटा माइकल जडान भइसकेका छन् ।

त्यसबाहेक पुरानो टेबल हटाएर ५४ पिस नयाँ टेबल राखिएको छ । पुरानो भद्दा भएको र जोडिएको टेबल भएको भन्दै नयाँमा लगानी गरिएको हो । त्यति मात्रै होइन दाताकै सहयोगमा प्रदेश सभालाई चिटिक्क बनाउन रेलिङ बनाइँदै छ । दातकै सहयोगमा २ स्पिकर र एउटा मिक्चर पनि थप गरिएको छ ।

नयाँ प्रदेश सभा सदस्यहरूको लागि युएनडिपीले २० लाख भन्दा बढी रकम खर्च गरेको छ । यहाँ ५ लाख १४ हजारको फर्निचर र १५ लाख १७ हजारका उपकरण जडान भएका छन् ।

‘प्रदेश सभा सदस्यहरुलाई सहज बनाउन माइक र टेबल थप गरिएको प्रदेश सभा सचिवालयका सचिव देव बहादुर बोगटीले बताए । ‘पहिलेको माइकमा बोल्दा माननीय ज्यूहरू झुक्नु पर्ने वा माइक नै उठाउनु पर्ने भएपछि यो माइक जडान गरिएको हो’ उनले भने ।