तटबन्धको विषयलाई लिएर दार्चुलास्थित नेपाल–भारत सीमामा तनाव
2022/12/05, 11:15
 
dd

भारतले एकपक्षीय रूपमा नेपाललाई क्षति पुग्ने गरी तटबन्ध निर्माण गर्न थालेपछि दार्चुलामा तनाव भएको छ । महाकाली नदीको बीच भागमा ग्याबिन जाली लगाएर तटबन्ध निर्माण गरेपछि तनाव भएको हो ।

नेपालतिर क्षति पुग्ने गरी नदीको धार परिवर्तन गरेको भन्दै स्थानीयले नेपाल–भारत जोड्ने झोलुङे पुलमा आइतबार अढाई घन्टा तालाबन्दी गरेका थिए । गत वर्षबाटै निर्माण कार्य थालेको भारतीय कम्पनी अरुण कन्स्ट्रक्सनले सीमा नदी महाकालीको पानीको बहाव नेपालतर्फ फर्काएर तटबन्ध निर्माण गरिरहेको छ । भारतीय पक्षले एक किलोमिटर लम्बाइ र आठ मिटर चौडाइमा पक्की तटबन्ध निर्माण गरिरहेको हो । 

दिउँसो भारतीय पक्षको डोजरले बंगाबगड क्षेत्रमा नदीको बहाव नेपाल फर्काउने गरी काम थालेको भन्दै दुर्वतर्फबाट ढुंगा हानाहान भएको थियो । ढुंगा लागेर नेपालतर्फ प्रेमसिंह कुँवर र पुष्कर सिंह घाइते भएका छन् । भारतीय नागरिक घाइते भए पनि नाम खुलेको छैन ।

तनाव उत्पन्न हुन थालेपछि सुरक्षाकर्मी आएर रोकेका थिए । पुल बन्द भएर वारिपारि स्थानीय रोकिएपछि प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय नेतृत्वको टोलीले भारततर्फ निर्माण गरिरहेको तटबन्धको स्थलगत निरीक्षण गरेको थियो ।   आज फेरी भारतीय पक्षले पुल नाका बन्द गराएको छ । बन्द गराएको नाका खुलाउनका लागि जिल्ला प्रशासन कार्यालय दार्चुलाले पहल गरिरहेको जनाएको छ ।