मिलनको उत्कृष्ट बलिङप्रेरित सुदूरपश्चिमलाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि
2022/12/05, 5:36
 
ss

बलिङमा मिलन बोहरा चम्किएपछि सोमबार लुम्बिनी प्रदेशलाई ६ विकेटले पराजित गर्दै सुदूरपश्चिम प्रदेशले वाईवाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा लुम्बिनीले दिएको ९३ रनको सामान्य लक्ष्य सुदूरपश्चिम प्रदेशले २१ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो । टस जितेर ब्याटिङमा आएको लुम्बिनीलाई झिनो योगफलमै रोक्न सुदूरपश्चिम प्रदेशका मिलनले पाँच विकेट लिएका थिए । नौ ओभर बलिङ गरेका मिलनले दुई मेडन फ्याँक्दै १५ रनमात्र खर्चिएका थिए । यसबाहेक, हेमन्त धामी र नरेन साउदले समान दुई विकेट लिँदा आकाश चन्दले एक विकेट हात पारे ।

सुदूरपश्चिमको जितमा आक्रामक ब्याटिङ गरेका गजेन्द्र बोहराले सर्वाधिक ३९ रन बनाए । उनले १९ बलमा ६ चौका र दुई छक्का प्रहार गरे । दीपक बोहराले २५ र कप्तान अनुराग सिंहले २२  रन थपे । लुम्बिनीका रमेश कुर्मीले दुई विकेट लिँदा निर्मल गुरुङ र अभिषेक गौतमले एक–एक विकेट लिए ।

त्यसअघि लुम्बिनीका ओपनर आकाश त्रिपाठीले ३८ र नर सार्कीले ११ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेका थिएनन् । यू–१९ राष्ट्रिय टिम छनोटको रूपमा रहेको यो प्रतियोगितामा सात प्रदेशका टिमहरूको सहभागिता थियो ।