दार्चुला महाकाली तटबन्ध विवादबारे छलफल गर्न भारत तयार, धार्चुलामा बस्दै बैठक
2022/12/07, 2:48
 
दार्चुला महाकाली तटबन्ध विवादबारे छलफल गर्न भारत तयार, धार्चुलामा बस्दै बैठक

दार्चुला – दार्चुलामा भारतले एकतर्फी बनाइरहेको तटबन्ध निर्माणका क्रममा भएको विवादमा नेपाल र भारतका प्रशासनिक अधिकारीबीच छलफल हुने भएको छ। चौतर्फी दबाबपछि आज बुधबार भारतीय पक्ष वार्तामा बस्न तयार भएको जनाइएको छ। वार्तामा नेपाली प्रशासन र भारतीय प्रशासनिक अधिकारीबीच नेपाल–भारत समन्वय समितिको बैठक बस्ने छ।
आज अधिकारीबीच धार्चुलास्थित विश्राम गृह लोक निर्माण विभागमा छलफल हुने जनाइएको छ। बुधबार नेपाल र भारतीय प्रशासनबीच नेपाल–भारत समन्वय समितिको बैठक बस्ने कुरा तय भएको दार्चुला प्रशासनले जनाएको छ। यस्तै उता, भारत पिथौरागढस्थित जिल्ला अधिकारी कार्यालयकी प्रमुख रीना जोशीले पनि नेपाली प्रशासनसँग छलफल गर्ने भएकाले बैठकमा सहभागी हुन मातहतका कार्यालयलाई पत्राचार गरेकी छन्।मंगलबार भारतीय अधिकारीले महाकाली नदी क्षेत्रमा भइरहेको तटबन्ध निर्माणको कामको अनुगमन पनि गरेका थिए।
आइतबार महाकाली नदीको धार परिवर्तन हुने गरेर भारतले एकलौटी तटबन्ध निर्माण गरेपछि दार्चुला खलंगाका स्थानीय विरोध तथा प्रतिरोधमा उत्रिएका थिए। उनीहरुमाथि भारतीय नागरिकले ढुंगामुढासमेत गरेका थिए। त्यस क्रममा चार जना नेपाली नागरिक घाइते भएका थिए। त्यसपछि नेपालीहरुले पनि भारततर्फ ढुंगा हानेका थिए। त्यसपछि यो विवाद पेचिलो बन्दै गएको थियो। पटकपटक भारतले नेपाल र नेपालीविरुद्ध ज्यादती गरिरहेको त्यहाँका स्थानीयको भनाइ छ। उनीहरु अहिले भारतीय ज्यादतीविरुद्ध आक्रोशित भएका छन्। भारत त्यसैको दबाबमा परेको छ। यस्तै भारतले ढुंगा हानाहानपछि भारत जाने नेपालीलाई सीमामा कडाइ गरेको छ। सो क्रममा नेपाल सरकारले पनि भारतलाई कूटनीतिक नोट पठाएको छ। त्यसपछि बुधबार नेपाली प्रशासन र भारतको स्थानीय प्रशासन छलफलमा बस्न लागेको जनाइएको छ ।