सुदूरपश्चिममा कोरोनाले ६ जनाको मृत्यु, ४ जनाको मृत्युपछि मात्रै पुष्टि
2020/06/28, 1:13
 
korona

सुदूरपश्चिम प्रदेशमा कोरोनाका कारण ६ जनाको मृत्यु भएको छ । शनिबार चितवन मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित कैलालीको गोदावरीका ५० वर्षीय पुरुष मृत्यु भएसँगै मृतकको संख्या ६ पुगेको छ । यसअघि कैलालीकै तीन र बाजुराका दुई जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ । कोरोनाबाट मृत्यु भएका भनिएका मध्ये चार जनाको मृत्युपछि मात्र कोरोना भएको रिर्पोट आएको छ ।

गत जेठमा सेती अस्पतालको डायलासिस वार्डमा मृत्यु भएकी धनगढी उपमहानगरपालिका वडा नम्बर ४ की ५५ वर्षीय महिलाको अन्त्येष्टिपछि मात्र कोरोना पोजेटिभ आएको थियो । उनी मृगौला सम्बन्धी विरामी थिइन् । यस्तै नेपालगंज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएकी लम्कीचुहा नगरपालिका वडा नम्वर २ की ४३ बर्षीया महिलाको पनि मृत्युपछि कोरोना पुष्टि भएको थियो । टाउकोमा चोट लागेकी उनलाई जेठ ३१ गते नेपालगंज मेडिकल कलेज कोहलपुर लगिएकोमा असार ३ गते मृत्यु भएको स्वास्थ्य कार्यालय कैलालीका निमित्त लालबहादुर धामीले बताए ।

गत जेठमै बाजुरा अस्पतालको आइसोलेसनमा मृत्यु भएकी दुई वर्षीया बालिकाको पनि मृत्यु पछि कोरोना पुष्टि भएको थियो । आमाबुवासँगै भारतबाट फर्किएर क्वारेन्टिनमा बस्दै आएकी उनको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । बाजुरामै क्वारेन्टिनमा आत्महत्या गरेका युवकमा पनि कोरोना पुष्टि भएको थियो । बडिमालिका नगरपालिका –२ भौनेरामा रहेको सत्यवादी माध्यमिक विद्यालयको क्वारेन्टिनमा आत्महत्या गरेका पुरुषमा कोरोना पुष्टि भएको थियो ।

प्रदेशमा कैलालीका दुईजनामा मात्र मृत्यु अघि मृत्यु भएको थियो । कैलालीको गोदावरी नगरपालिकाका ४६ वर्षीय संक्रमितको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । उपचारमा संलग्न फिजिसियन डाक्टर निराजनदत्त शर्मा पौडेलले कोरोना संक्रमणकै कारण निमोनिया भएपछि उनको मृत्यु भएको बताए ।