पुनःस्थापना नहुँदा पहिरो पीडितको जीवन कष्टकर
2022/12/21, 1:12
 
ss

बाजुराको हिमाली गाउँपालिकाका बाढीपहिरो पीडित अझै पनि त्रिपालमा दिन बिताइरहेका छन् । बाढीपहिरो पीडितको पुनस्र्थापनाको पहल कतैबाट हुन सकेको छैन। वडा नं ४ बोर्ताका ११२ परिवार त्रिपालमै छन् ।  त्रिपालमा तीन महिना बिताए पनि राहत र पुनस्र्थापनाको कुनै पहल हुन नसकेको बाढीपहिरो प्रभावितको गुनासो छ । पुर्खौदेखि बसोबास गरिआएको घर असोजको वर्षाले भत्काएपछि उनीहरूसँग अहिले ओत लाग्ने ठाउँ नभएको हिमाली गाउँपालिकाका प्रवक्ता भीमानन्द पाण्डेयले बताए । 

उनले गाउँपालिकालगायत विभिन्न सङ्घसंस्थाले वितरण गरेको राहत प्रभावितलाई पुग्दो नभएको बताए । प्रभावित स्थानीय गाँस, बासको पर्खाइमा रहे पनि कुनै निकायबाट सहयोग हुन नसकेको उनले बताए । गाउँपालिकाबाट सहयोग भएको भए पनि बाढीपहिरो प्रभावितलाई त्रिपाल पुग्दो छैन । एक त्रिपालभित्र धेरै परिवारका सदस्य मिलेर बस्ने गरेका छन् । चिसो मौसममा कठ्याङ्ग्रिँदै त्रिपालभित्र रहेकालाई विभिन्न रोगले समेत सताएको छ । विशेष गरेर दीर्घरोगी, बालबालिकालगायतलाई झनै समस्या भएको पाण्डेयले बताए । 

यसैबीच बाढीपहिरो प्रभावित स्थानीयलाई गत शनिबार मात्रै फेज नेपाल बाजुराको आर्थिक सहयोग र गाउँपालिकाको समन्वयमा राहतस्वरूप खाद्यान्न वितरण गरिएको छ । असोज १९ देखि २३ गतेसम्मको अविरल वर्षाबाट प्रभावित स्थानीयलाई खाद्यान्नका सामाग्री वितरण गरिएको प्रवक्ता भीमानन्द पाण्डेयको भनाइ छ । उनले वडा नं। ४ को बोर्तालगायत अन्य ठाउँका १४४ प्रभावित स्थानीयलाई राहतस्वरूप खाद्यान्न वितरण गरिएको बताए । 

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीका अनुसार गाउँपालिकाको आर्थिक स्रोतबाट उनीहरूलाई पुनस्र्थापना गर्न सकिने अवस्था छैन । असोजकै पहिरोले बोर्ताको बस्तीसँगै नेपाल राष्ट्रिय आधारभूत विद्यालयको भवन पनि बगाएको थियो ।