सुदूरपश्चिम प्रदेशको आर्थिक तथ्यचित्र
2023/01/23, 12:08
 
ss

सुदूरपश्चिम प्रदेशको कुल जनसंख्या २७ लाख ११ हजार २ सय ७० छ । यो नेपालको कुल जनसंख्याको ९.२८ प्रतिशत हो । कुल गार्हस्थ्य उत्पादन जीडीपीमा यस प्रदेशको हिस्सा ७.२१ प्रतिशत छ । गत आर्थिक वर्षमा यस प्रदेशको आर्थिक वृद्धिदर ४.९३ प्रतिशत रहने केन्द्रीय तथ्यांक विभागको प्रक्षेपण छ ।

सुदूरपश्चिममा बैंक तथा वित्तीय संस्थाको संख्या ८ सय २८ छ । यो नेपालभरको बैंक तथा वित्तीय संस्थाको ७.२९ प्रतिशत हो । प्रदेशगत रूपमा यो छैटौं स्थानमा छ । प्रदेशमा बैंकले प्रतिशाखा ३ हजार २ सय ७४ जनालाई वित्तीय सेवा दिइरहेका छन् । देशभरका कुल सहकारीमध्ये ६।९२ र बिमा कम्पनीका शाखामध्ये ९.९१ प्रतिशत यहाँ छन् । नेपालको कृषि उत्पादन र उत्पादनमूलक उद्योगका हिसाबले पनि यो प्रदेश छैटौं स्थानमा छ । कृषि उत्पादन र उत्पादनमूलक उद्योगमा सुदूरपश्चिमको हिस्सा ५.४ प्रतिशत छ । वन क्षेत्रका हिसाबले भने यो प्रदेश सबैभन्दा अघि छ । नेपालको कुल वन क्षेत्रको १७.३४ प्रतिशत हिस्सा यस प्रदेशले ओगटेको छ ।

प्रतिव्यक्ति आयका हिसाबले सुदूरपश्चिम प्रदेश पाँचौं स्थानमा छ । गत आर्थिक वर्षमा यस प्रदेशका नागरिकको प्रतिव्यक्ति आय १०३१ अमेरिकी डलर छ । विद्यालय संख्याका आधारमा पनि यो प्रदेश पाँचौं स्थानमा छ । यहाँ ४ हजार ६१ विद्यालय छन् । यो नेपालको कुल विद्यालय संख्याको ११.८२ प्रतिशत हो ।  प्रादेशिक रूपमा तुलना गर्दा ऊर्जा उत्पादनका हिसाबले यस प्रदेशको हिस्सा ५२ मेगावाट छ । यो मधेस, लुम्बिनी र कर्णालीको भन्दा धेरै हो । ऊर्जा पहुँचमा भने यो छैटौं स्थानमा छ । प्रदेशका ७१.०७ प्रतिशत जनसंख्यामा ऊर्जा पहुँच छ । सुदूरपश्चिममा १ सय ३० उद्योग दर्ता भएका छन् ।

तिनमा ४७ अर्ब रुपैयाँ लगानी भएको छ । उद्योग संख्या र लगानीका हिसाबले यस प्रदेशको हिस्सा क्रमशः २.५७ र १.८७ प्रतिशत छ । सडक सञ्जालका हिसाबले पनि यो प्रदेश छैटौं स्थानमा छ । यहाँ ५ हजार ४ सय ७५ किमि सडक निर्माण भएको छ । यो नेपालभरको कुल सडक सञ्जालको ८.४७ प्रतिशत हो । यस क्षेत्रमा ३ लाख ६ हजार २ सय ३ वटा डिम्याट खाता खुलेका छन् । नेपालमा खुलेको कुल डिम्याट खाताको करिब ५.७२ प्रतिशत हो यो ।

निजी प्रतिष्ठानमा आबद्ध रोजगारीका हिसाबले पनि यो प्रदेश छैटौं स्थानमै छ । यहाँका १ लाख ८५ हजार २ सय जना जनशक्ति रोजगारीका लागि निजी प्रतिष्ठानमा आबद्ध छन् । सुदूरपश्चिममा विदेशी लगानीका ५० उद्योग दर्ता भएका छन् । यो नेपालभर रहेका कुल विदेशी लगानीका उद्योगका हिसाबले सबैभन्दा कम ९०.९३० प्रतिशत हो । सवारीसाधन दर्ताका हिसाबले पनि यो प्रदेश छैटौं स्थानमा छ । गत असारसम्म यहाँ १ लाख ९२ हजार ३ सय ९० सवारीसाधन दर्ता भएका छन् । यो नेपालभर दर्ता भएका कुल सवारीसाधनको ३.८ प्रतिशत मात्र हो ।

भारतबाहेकका मुलुकमा वैदेशिक रोजगारीमा जाने संख्याका हिसाबले पनि यो प्रदेश सबैभन्दा पछि छ । आर्थिक वर्ष ०७८/७९ मा यस प्रदेशबाट १५ हजार ३ सय २५ जनाले मात्र वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । निर्यातका हिसाबले भने यहाँ प्रशस्त सम्भावना छ । यस प्रदेशबाट तरकारी, जैतुनको तेल, जडीबुटी, टर्पेन्टाइन तेल, रोजिन र रोजिन तेल, फलफूल, दुग्धजन्य पदार्थ, जलविद्युत्लगायत वस्तु निर्यातको सम्भावना छ । आर्थिक वर्ष ०७९/८० मा प्रदेशगत बजेटका हिसाबले पनि यो प्रदेश सबैभन्दा पछि छ । उक्त आर्थिक वर्षमा कुल प्रदेशगत बजेटको १२ प्रतिशत हिस्सा मात्र यस प्रदेशले ओगटेको छ । कान्तिपुरबाट