सुदूरपश्चिम प्रदेशमा झण्डै तीन महिनाको अवधिमा दुई ठुला भुकम्प, ७ जनाको मृत्यु, सयौ घरमा क्षति (भिडियो सहित)
2023/01/25, 5:44
 
ss

सुदूरपश्चिम प्रदेशमा तीन महिनाको अवधिमा दुई ठुला भुकम्प गएको छ । भुकम्पमा परी ७ जनाको मृत्यु भएको छ भने केही मानिसहरु घाईते भएका छन । छ जनाको ज्यान जाने गरी डोटीको केन्द्रबिन्दु बनाएर भूकम्प गएको तीन महिना बित्न नपाउँदै पूरै सुदूरपश्चिम हल्लाउने गरी हिजो फेरि अर्को भूकम्प गएको छ ।

हिजो दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको हिमाली गाउँपालिका र हुम्लाको ताजाकोट गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने मैला केन्द्रबिन्दु बनाएर ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गयो । गत कात्तिक २३ गते ६.६ रेक्टर स्केलको भूकम्प जाँदा डोटीको पूर्वीचौकी गाउँपालिकाका छ जनाको ज्यान गएको थियो । मंगलबारको भूकम्पले पनि बाजुरामा एक महिलाको ज्यान लिएको छ । गौमुल गाउँपालिका–२ को जुरेलीको स्थानीय जंगलमा घाँस काट्ने बेला गएको भुकम्पसँगै माथिबाट खसेको ढुंगाले लागेर महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ  । भूकम्पमा परेर दुई जना घाइते भएका छन् । 

गत कात्तिकमा डोटीमा ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भूकम्पले घर भत्काउँदा छ जनाको ज्यान गएको थियो । सो भूकम्पले बझाङ, बाजुराका विभिन्न ठाउँमा स्थानीयको घर भत्काएको थियो । अघिल्लो भूकम्पले संरचना भत्काएपछि डोटीका कैयौं भूकम्प पीडित अझै त्रिपालमुनि बस्दै आएका छन् । अघिल्लो भूकम्पका कारण तर्सिएका स्थानीयलाई हिजोको भूकम्पले थप त्रसित बनाएको छ । 
डोटीको भूकम्पपछि परकम्पहरू पनि गए । बाजुराको भूकम्प परकम्प नभई छुट्टै भूकम्प रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । लगातार भुकम्पहरु उाउनु भनेको यसले सुदुरपश्चिम प्रदेश क्षेत्रमा भूकम्पीय गतिविधि बढेको संकेत गर्छ । विसं २०७२ सालमा गोरखा जिल्लामा केन्द्रबिन्दु भएर गएको विनाशकारी भूकम्पका दरारहरू पोखराभन्दा पश्चिमतर्फ देखिएका थिएनन् । जस कारण सुदुरपश्चिम क्षेत्र भुकम्पको उच्च जोखीममा रहेको छ । 

पश्चिम नेपालमा ५०० वर्षभन्दा बढी समयदेखि महाभूकम्प नगएकाले त्यहाँको भूगर्भमा धेरै ऊर्जा सञ्चित भएर बसेको भूगर्भविद्हरूको भनाई छ । तर डोटी र बाजुरामा गएका भूकम्पहरू सञ्चित ऊर्जा निष्कासनका लागि पर्याप्त नभएको उनीहरूको भनाइ छ । पोखरादेखि पश्चिम भारतको देहरादुनसम्म निकै लामो समय ठूला भूकम्पीय गतिविधि नभएकाले सो क्षेत्रमा भूकम्प जाने ठूलो जोखिम भएको क्षेत्र हो । पश्चिम क्षेत्रमा जुनसुकै समयमा पनि महाभूकम्पको खतरा छ । पूरै सुदूरपश्चिम भूकम्पीय क्षेत्रमा रहेकोले  सोहि अनुसारको सावधानी अपनाउनुपर्ने भूकम्पविदहरुको भनाई छ । 

दुई ठुला भुकम्पमा कति भयो क्षति ?
सुदूरपश्चिममा तीन महिना नपुग्दै दुई ठुला भूकम्प गएका छन । भूकम्पका कारण प्रदेशमा सात जनाको मृत्यु भएसँगै दर्जनौ भौतिक संरचनामा क्षति भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय कैलालीको तथ्याङ्कले देखाएको छ । हिजो बाजुरा जिल्लाको हिमाली गाउँपालिकाको मौला केन्द्रबिन्दु बनाएर दिउँसो २ बजेर ४३ मिनेटमा गएको ५ दशमलव ९ म्याग्निच्युडको भूकम्पका कारण एक जनाको मृत्यु भएको छ । यस्तै, डोटीको खप्तड क्षेत्र केन्द्र बिन्दु बनाएर गत कार्तिक २२ गते मध्यराति २ बजेर १२ मिनेटमा ६ दशमलव ६ म्याग्नीच्यूडको भूकम्प गएको थियो । त्यसमा परी सो गाउँका ६ जनाको मृत्यु हुनुका साथै सात जना घाइते भएका थिए । उक्त भूकम्पमा परी आठ घर पूर्ण ध्वस्त भएका थिए भने दर्जर्नौँ घरमा क्षति पुगेको थियो । कात्तिकमा २२ मा आएको भूकम्पमा  डोटीमा एक हजार चार सय १२ घरमा क्षति भएको थियो ।  

यस्तै, माघ १० गते बाजुरा जिल्लाको हिमाली गाउँपालिकाको मौला केन्द्रबिन्दु बनाएर दिउँसो २ बजेर ४३ मिनेटमा गएको ५ दशमलव ९ म्याग्निच्युडको भूकम्पका कारण बाजुरा, बझाङ, डोटी र अछामका विभिन्न स्थानमा क्षति पुगेको छ । भूकम्पका कारण बाजुराका विभिन्न स्थानीय तहका ४८ घरमा पूर्ण क्षति, ११४ घरमा आंशिक र १३ ओटा सरकारी भवनहरुमा क्षति भएको छ ।  यसैगरी बझाङको विभिन्न स्थानीय तहका ५७ घरमा र ८ सरकारी भवन तथा  अछामको मंगलसेन नगरपालिकामा ३ वटा घर र १ सरकारी भवनमा क्षति पुगेको छ । हिजो आएको भूकम्पमा डोटीको दिपायल सिलगढी नगरपालिकामा ३ घरमा क्षति भएको प्रहरीको विवरणमा उल्लेख गरिएको छ । बाजुरा केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण अहिले सम्म एक जनाको मृत्यु भएसँगै ४ जना घाइते भएको प्रहरीले जनाएको छ ।