डडेल्धुराबाट प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्य डा.तारा जोशीलाई नेकपा एसमा फर्काउन नेताहरूले तीव्र दौडधुप थालेका छन् । नेकपा एसका सांसद तथा नेता भानुभक्त जोशी, माया भट्ट, प्रदेश इन्चार्ज गरिमा शाह, प्रदेश उपाध्यक्ष तथा सांसद शेरबहादुर कुवर लगायतले हिजो सांसद जोशीलाई प्रत्यक्ष भेटेर पार्टीमा लाग्न आग्रह गरेका थिए ।
सांसद जोशीले भने तत्काल नेकपा एसमा फर्किन असम्भव रहेको बताए । उनीहरुले नेकपा एकीकृत समाजवादीका केन्द्रीय अध्यक्ष माधव कुमार नेपाललाई भेट्न पनि आग्रह गरेका थिए । सांसद जोशीले त्यो प्रस्ताव पनि अस्वीकृत गरे ।
एमाले विभाजनपछि नेकपा एकीकृत समाजवादीमा लागेका जोशी केन्द्रीय सदस्य तथा उद्यमशीलता विकास विभाग प्रमुखको जिम्मेवारीमा थिए । प्रदेश सभा निर्वाचनमा नेकपा एकीकृत समाजवादीबाट प्रदेश सभा सदस्यको आकाङ्क्षी रहेका जोशीलाई पार्टीले टिकट दिएन । त्यहाँ नेपाली कांग्रेसका नेता तथा तत्कालीन सामाजिक विकास मन्त्री गोविन्द बोहराले गठबन्धनबाट टिकट पाए ।
२०७४ मा ३५६ मतले मात्रै पराजित भएका जोशीलाई यस पटक जनताले पत्ताउने विश्वास थियो । पार्टी विश्वास नगरेपछि स्वतन्त्र उठे र जिते । आफूलाई टिकट दिँदा चासो नदिएको र त्यसपछि कारबाहीका लागि विज्ञप्ति जारी गरेको भन्दै जोशी अहिले नेकपा एकीकृत समाजवासीसँग रुष्ट छन् । उनले आज माधव कुमार नेपाललाई भेट्न पनि मानेनन् ।
पार्टीको प्रदेश कमिटी बैठकमा सहभागी हुन नेपाल हिजो कैलाली आएका थिए । आजबाट प्रदेश स्तरीय प्रशिक्षण आयोजना गरिएको छ । त्यसमा सहभागी भएर आजै नेपाल काठमाडौँ फर्किने छन् । तर, काठमाडौँ जानु अघि नेपाल नै जोशीलाई भेट्न चाहेका थिए । जोशीले भने अहिले तत्काल भेट नहुने सन्देश पठाए ।
जोशीलाई नेकपा एकीकृत समाजवादीका केही नेताहरूले यस अघिबाटै पार्टीमा भित्राउन खोजिरहेका छन् ।
मङ्सिर २८ गते धनगढीमा सम्पन्न नेकपा एकीकृत समाजवादीको प्रदेश बैठकमा पनि जोशीलाई भित्राउनु पर्ने आवाज उठेको थियो । उक्त बैठकमा केन्द्रीय उपाध्यक्ष प्रवेश हमाल पनि उपस्थित थिए