राष्ट्रपति निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन हुँदै
2023/02/22, 9:22
 
iuoooooooooo

निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन गर्ने भएको छ । आयोगले जारी गरेको कार्यतालिका अनुसार फागुन १० गते मतदाताको नामावली सार्वजनिक गर्नेछ । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि मतदान अधिकृत पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेललाई तोकिएको छ । राष्ट्रपति निर्वाचनका लागि नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा दुईटा मतदान केन्द्र रहने छन् । 

राष्ट्रपति निर्वाचनमा संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) र प्रदेशसभाका सदस्यहरू मतदाता हुन्छन्। जसअनुसार सातै प्रदेशका प्रदेशसभा सचिवालयले मतदाताहरुको नामसूची पठाइसकेका छन्। राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । 

दलहरूले राष्ट्रपति उम्मेदवार कसलाई बनाउनेबारे राजनीतिक कसरतमा जुटेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनले नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले राष्ट्रपतिका लागि राष्ट्रिय सहमति हुनुपर्ने बताइरहेको छ ।

नेपाली कांग्रेसले आफ्नो दलको तर्फबाट उम्मेदवारी दिने भनिरहेको छ । नेकपा (एमाले) ले गत पुस १० गते भएको सहमतिअनुसार राष्ट्रपतिको उम्मेदवार सत्ता साझेदार दलबाट हुनुपर्ने बताइरहेको छ ।