भारतले हटाउन लागेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिले नेकपा स्थायी कमिटी बैठक प्रभावित
2020/06/30, 4:36
 
sthai samiti baithak

 आफूलाई पदबाट हटाउन भारत लागेको भनी प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको पछिल्लो अभिव्यक्तिले नेकपा स्थायी कमिटी बैठक प्रभावित भएको छ । मंगलबारको बैठकको सुरुमै अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको सो अभिव्यक्ति गम्भीर रहेको भन्दै छलफल हुनुपर्ने बताएका हुन् ।
त्यस्तै बरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम लगायतले पनि प्रधानमन्त्रीको अभिव्यक्ति गम्भीर ढंगले आएकाले यसबारेमा बैठकलाई यथार्थ जानकारी गराउनुपर्ने धारणा राखेको एक स्थायी कमिटी सदस्यले बताए ।

स्थायी कमिटी बैठक चलिरहेकै बेला प्रधानमन्त्रीले आइतबार मदन भण्डारी फाउण्डेसनको कार्यक्रममा आफूलाई भारतले हटाउन लागेको अभिव्यक्ति दिएका थिए ।

नेकपा स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । मंगलबारको बैठकमा प्रधानमन्त्री ओली पनि उपस्थित छन् ।

प्रधानमन्त्रीलाई पछिल्लो अभिव्यक्तिले थप अप्ठेरोमा पारेको छ । स्थायी कमिटीमा स्पष्ट अल्पमतमा रहेका ओलीले आफूलाई हटाउन प्रचण्ड र माधव नेपाल पक्ष लाग्ने सम्भावना देखेर यस्तो अभिव्यक्ति दिएको आरोपसमेत लागेको छ ।