सुदूरपश्चिमका पृथ्वीबहादुर शाहविरुद्ध ४ मुद्दा चलाउन सुझाव
2023/03/02, 10:35
 
reeerrreweer

अवैध रूपमा अमेरिकी नागरिकको पैसा नेपाल भित्र्याएका पृथ्वीबहादुर शाह र उनको समूहमाथि चारवटा मुद्दा चलाउन सीआईबीले सुझाव दिएको छ। शाहलगायत उनका भाइ विजयविक्रम शाहसहितको उनको समूहविरुद्ध संगठित अपराध, लिखतसम्बन्धी कसुर, व्यक्तिविरुद्ध ठगी र सहकारी ठगीसम्बन्धी मुद्दा दायर गर्न सीआईबीले सुझाव दिएको हो। सीआईबीले बुधबार पत्रकार सम्मेलन गरी यससम्बन्धी जानकारी गराएको थियो। 

सीआईबीका प्रवक्ता सञ्जयसिंह थापाका अनुसार गत पुस २२ गते पक्राउ परेका शाहसहित ७ जनाविरुद्धको अनुसन्धान सकेर सीआईबीले सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाएको छ। प्रवक्ता थापाका अनुसार शाहसहितको समूहले अमेरिकी नागरिकलाई ठगी गरी अवैध ठूलो मात्रामा अमेरिकी डलर नेपाल भित्र्याएको भेटिएको छ। 

अनुसन्धान अधिकृतका अनुसार शाहले अमेरिकी नागरिकलाई बाध्य पारेर पैसा पठाउन लगाउँथे। उनीहरूबाट ठगिएकामध्ये अधिकांश वृद्ध उमेर समूहका छन्। अवैध रकम ल्याएको आरोप लागेका शाहले अनुसन्धानका क्रममा नेपालमा घुम्न आएका अमेरिकी पर्यटकलाई सहयोग गर्ने र सहयोगबापतको रकम लिएको दाबी गरेका छन्। 

सरकारी वकिल कार्यालयलाई बुझाएको प्रतिवेदनमा सीआईबीले शाहसहितको समूहलाई व्यक्तिविरुद्ध ठगी, लिखतसम्बन्धी कसूर, सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर गर्न सकिने सुझाव दिएको छ। उनका भाइ विजयविक्रम शाहविरुद्ध सहकारी ठगी, लिखत कीर्ते गरेको, ठगी र संगठित अपराधको मुद्दा चलाउन सुझाव दिएको हो। उनीसहित ७ जना पक्राउ परेका थिए। अन्य १३ जना फरार भएको सीआईबीले बताएको छ। 

उनीसहितको समूहविरुद्ध अवैध सम्पत्ति आर्जन गर्ने उद्देश्यले २४ भन्दा बढी कम्पनी खडा गरेको उजुरी छ। अनुसन्धानका क्रममा पनि पुष्टि भएको छ। उनीहरूविरुद्ध ५६ जनाको २४ वटा उजुरी परेको छ। उनीहरूको कम्पनीले विदेशबाट नेपाल रकम भित्र्याउने अनुमति छैन। अमेरिकी नागरिकसम्म उनीहरूले एक्सेस पुर्‍याएर विभिन्न बहानामा रकम ठगी गर्ने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ। 

सीआईबीका अनुसार शाहको कम्पनीले विभिन्न माध्यमबाट अमेरिकी नागरिकसम्म एक्सेस राख्थे। एन्टिभाइरस अपडेट, अमेजनको बिल भुक्तानिलगायतका बहानामा कुराकानीमा रहन्थे। रिमोट एक्सेसबाट उनीहरूको डिभाइसबाट बैक अकाउन्टसम्म पुग्थे। बैक अकाउन्ट आफ्नो हातमा आएपछि अकाउन्टको रुकम नेपाल र थाइल्यान्डमा पठाउँथे। पीडितको बैंक अकाउन्टमा पहुँच पुर्‍याएपछि उक्त अकाउन्ट शाहको समूहले नै चलाउने गरेको अनुसन्धानमा खुलेको छ। 

नम्बर अमेरिकी नागरिकको भए पनि सम्पर्कको नेटवर्क भारतको वेस्ट बंगाल देखिएको छ। क्यान्सर, अल्जाइमर लागेका र वृद्धवृद्धाको बैंक खातामा पहुँच पुर्‍याइ उनीहरूको बैंकमा पनि आफैंले मेल गरिदिन्थे। प्रहरीमा उजुरी गरेमा सम्पत्ति शुद्धीकरण युनिटले कारबाही गर्छ भन्दै धम्काउँथे। पीडितहरूलाई फोन गरी उनीहरूको गतिविधिमा निगरानी गर्थे। बैंकको नक्कली स्टेटमेन्ट बनाएर पीडितको मेलमा पठाउँथे। 

यो समूहले जग्गा खरिदमा पनि राजस्व र कर छली गरेको सीआईबीले बताएको छ। कम्पनी दर्ता गर्दा पनि अन्य व्यक्तिको किर्ते औंठाछाप लगाएको अनुसन्धानबाट खुलेको छ। सीआईबीका प्रवक्ता सञ्जयसिंह थापाका अनुसार शाहसहितको कम्पनीले पीडित व्यक्तिहरूबाट ४५ लाख ४६ हजार अमेरिकी डलर, २२ हजार पाउन्ड र तीन लाख क्यानेडियन डलरसहित ठगी गरेको छ। ब्युरोले शाहसहित उनका सहयोगीविरुद्ध ठगी, संगठित अपराध, सहकारी ठगी, लिखतसम्बन्धी कसूर गरी ४ वटा कसूरमा मुद्दा दायर गर्न सुझाव दिएको छ।