डोटी कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी
2023/04/07, 2:28
 
dfffggggg

२५ जना क्षमता भएको डोटी कारागारमा ६३ जना बढी कैदी बन्दीहरु राखिएका छन् । कारागारको क्षमता २५ जना रहेको कारागार कार्यालयका प्रमुख प्रदिप ओझा बताउँछन् । ‘क्षमता त २५ जनाको मात्रै हो तर कैदी र थुनुवा गरी हाल ६३ जना छन्’ ओझाले भने ‘निकै असहजता भइरहेको छ ।’

उनले कारागारको भवन पुरानो र जीर्ण भइसकेकोले भूकम्पीय जोखिममा समेत रहेको वताए । ओझाका अनुसार उक्त भवन निर्माण भएको एक सय वर्षभन्दा माथी भइसककेको छ । ‘जीर्ण भइसकेको साँघुरो भवन रहेछ, त्यसैमा क्षमता भन्दा अढाई गुणा बढी कैदी बन्दी राख्नुपर्ने बाध्यता छ’ एक महिनाअघि मात्रै कार्यालय प्रमुख भएर आएका ओझा भन्छन् ‘उनीहरुलाई सुत्न बस्नकै लागि समस्या छ।’ओझाले एउटै कोठामा सात आठ जना कैदी बन्दीलाई राखेर व्यवस्थापन गर्नु परेको जानकारी दिए । 

कारागार कार्यालयले दिएको जानकारी अनुसार हाल कारागारमा कैदी ४७ र थुनुवा १६ रहेका छन् । सबैभन्दा बढी जबरजस्ती करणीको मुद्दाका कैदीवन्दी रहेको कार्यालयले उपलब्ध गराएको बिवरणमा उल्लेख छ । यस शीर्षकमा १९ कैदी र पाँच थुनुवा गरी २४ जना रहेका छन् । यस्तै कर्तव्य ज्यान मुद्दामा १४ कैदी र तीन बन्दी गरि १७ जना रहेका छन् ।

सवारी ज्यान मुद्दामा चार कैदी र दुई थुनुवा गरी ६ जना, लागु औषधमा एक कैदी र तीन थुनुवा गरी चार जना, ज्यान मार्ने उद्योगमा दुई कैदी र एक थुनुवा गरी तीन जना र चोरी मुद्दामा एक कैदी र एक थुनुवा गरी दुई जना रहेका छन् ।

कार्यालयको अभिलेख अनुसार बालबिवाह र जवरजस्ती करणी उद्योगमा दुई, जवरजस्ती करणी, बालबिवाह र बहुबिवाहमा एक, जबरजस्ती करणी उद्योगमा एक, कर्तव्य ज्यान अवैध हातहतियारमा एक र बाल यौन दुराचारमा एक जना कैद भुक्तान गरिरहेका छन् । अवैध हातहतियारमा एक जना थुनामा रहेका छन् ।