दार्चुलामा युवा-युवती मृत फेला
2023/04/14, 2:01
 
erwee

दार्चुलामा एक युवा र युवती मृत फेला परेका छन् । जिल्लाको नौगाड गाउँपालिका–४ सिप्टी जाने बाटो बासिडाँडामा अन्दाजी २३/२४ वर्षका युवा र युवतीको शव फेला परेको हो । युवतीको शव चोट पटक लागेको अवस्थामा फेला परेको छ । युवाको शव भिरमा अडकिएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले मृतक युवती नौगाड गाउँपालिका–४ की सञ्जिता धामी रहेको बताए। उनको शव भन्दा करिब ४०/५० मिटर तल भिरमा युवाको शव अड्किएको अवस्थामा रहेको छ ।

उनको सनाखत हुन सकेको छैन। सोही ठाउँमा दुई वटा मोबाइल फोन फेला परेका छन् । एउटा फुटाएको र अर्को नफुटाइएको अवस्थामा फेला परेको हो । इलाका प्रहरी कार्यालय गोकुलेश्वरका इन्जार्च प्रहरी निरीक्षक गोविन्द भण्डारी नेतृत्वको टोली घटनास्थलमा छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक भण्डारीले बताए।