आवश्यकताका आधारमा बजेट विनियोजन गरिन्छः मुख्यमन्त्री शाह
2023/04/23, 2:10
 
ss

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले स्थानीय जनताको माग र आवश्यकताको आधारमा मात्रै योजना छनोट गरी बजेट विनियोजन गरिने बताएका छन्।

दार्चुला सदरमुकामको महाकाली नगरपालिकाको सभाहलमा स्थानीय तहका जनप्रतिनिधि, जिल्लास्थित कार्यालय प्रमुख, राजनीतिक दल र कर्मचारीसँग गरिएको अन्तक्र्रियामा मुख्यमन्त्री शाहले विगतका कमजोरी सच्याएर योजना छनोट तथा बजेट विनियोजन गरिने बताए।

मुख्यमन्त्री शाहले भने, “प्रक्रिया मिचेर आएका योजना अबका दिनमा कार्यान्वयन हुने छैनन् । पहुँचका आधारमा आएका योजनामा अनियमितताको कुरा सुनिएको छ, यो कुरालाई प्रदेश सरकारले पूर्णरूपमा निरुत्साहित गर्नेछ ।” कार्यक्रमका अधिकांश सहभागीले प्रदेशका योजना पहुँचको भरमा आउने र योजना पार्न कमिसन ९प्रीपेड० दिनुपर्ने अवस्था रहेको भन्दै यस्तो अवस्थाको अन्त्य हुनुपर्ने सुझाव दिएका थिए । 

निर्वाचित भइसकेपछि राजनीतिक दलभन्दा माथि उठेर जनताको सेवा गर्नुपर्ने बताउँदै मुख्यमन्त्री शाहले सुशासनका लागि डेलिभरीमा ध्यान दिनु आवश्यक रहेकोमा जोड दिए । कर्मचारी अभावको समस्या समाधानका लागि लोकसेवा आयोगले काम गरिरहेको उनले बताए।

दार्चुलाको समस्याबारे आफू जानकार रहेको बताउँदै उनले प्रमुख समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । सो कार्यक्रममा दार्चुलाबाट प्रदेश सभामा निर्वाचित प्रदेश सभा सदस्य विक्रमसिंह धामी, लक्ष्मी विक, प्रदेश योजना आयोगका उपाध्यक्ष मोहनदेव विष्टलगायतको सहभागिता थियो ।