कैलाली कांग्रेसमा लफडा : सभापतिका काउन्टरमा उपसभापति
2023/08/11, 7:24
 
कैलाली कांग्रेसमा लफडा : सभापतिका काउन्टरमा उपसभापति

धनगढी - नेपाली कांग्रेस कैलाली जिल्ला सभापति नारायणदत्त भट्टले दुई नेतालाई साधारण सदस्यसमेत नरहने गरि पार्टीबाट निष्कासन गरेपछि अहिले यहाँका कांग्रेसीजनमा विवाद सृजना भएको छ । सभापति भट्टविरुद्ध केही नेताले नाराबाजीसमेत गरेका छन् । सोमबार जिल्ला सभापति भट्टले गोदावरी नगरपालिका १ का क्षेत्रीय प्रतिनिधि लोकराज पाण्डे आगो र चुरे गाउँपालिका ६ का क्षेत्रीय प्रतिनिधि सुरतबहादुर कार्कीलाई अनुशासनको कारबाही भन्दै साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेका थिए ।

दुवैजना माथि पार्टी जिल्ला सभापतिले पार्टीको महत्त्वपूर्ण पदीय जिम्मेवारीमा बसेर पार्टी हितको बर्खिलाप हुने गरी र पार्टीको पदीय जिम्मेवारीमा रहेका नेता र कार्यकर्ताको मानहानि हुने गरी सार्वजनिक रूपमा अभिव्यक्ति दिने, सामाजिक सञ्जालमा तथानाम अभिव्यक्ति दिने गरेको आरोप लगाएका थिए । उक्त आरोपमा दुवैजनालाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको सभापतिले जारी गरेको पत्रमा उल्लेख छ । त्यसको तीन दिनपछि आज उपसभापति भीम बडूवालले छुट्टै विज्ञप्ति जारी गरेका छन् । उनले सभापतिले विधिविपरीत एकलौटी रूपमा कारबाही गरेको भन्दै सभापतिलाई नै अनुशासनको कारबाही किन नगर्ने भन्ने प्रश्न गरेका छन् ।

सभापतिले गरेको कारबाहीप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै उपसभापति बडूवालले भनेका छन् , ‘यो कारबाही विधिसम्मत नरहेको जानकारी गराउन चाहन्छु । अनुशासन समितिमा सामान्य जानकारी समेत नगराई सभापतिको एकल निर्णयले कसैलाई पनि निलम्बन गर्न पाइँदैन । पार्टी विधानको बर्खिलापमा अनुशासन समितिको मानमर्दन हुने गरी गरिएको एकल निर्णयले सभापतिलाई नै अनुशासनको कारबाही किन नगर्ने भन्ने प्रश्न उब्जिएको छ ।’ दशरथ चन्द मेडिकल विश्व विद्यालय स्थापनका लागि आन्दोलन गरिरहेका उनीहरूलाई सम्मान गर्नुपर्नेमा पार्टी सभापतिले कारबाही गरेर पार्टीलाई अपमान गरेको उपसभापतिको बिज्ञप्तिमा उल्लेख छ ।

विधिविपरीत कारबाही गरेको भन्दै विवादमा तानिएका पार्टी सभापतिविरुद्ध उपसभापतिले अर्को विज्ञप्ति जारी गरेपछि कांग्रेस भित्रको विवाद छताछुल्ल भएको छ । पार्टी उपसभापति बडूवाल विधिविपरीत गरिएको कारबाही फिर्ता नभए स्वयम सभापतिलाई नै अनुशासनको कारबाही गर्ने गरि केन्द्रमा उजुरी गर्ने तयारी भइरहेको बताउँछन् ।