दुई महिनामा दुई अर्ब ४१ करोडको व्यापार घाटा
2023/10/03, 2:14
 
ss

कैलालीको त्रिनगर भन्सार नाका धनगढीबाट दुई अर्ब ४१ करोड ८५ लाखको व्यापार घाटा देखिएको छ। चालु आर्थिक वर्षको दुई महिनामा १३ करोड रुपैयाँको मात्र निर्यात व्यापार भएको पाइएको छ। सो अवधिसम्म अढाई अर्बको आयात भएको त्रिनगर भन्सार कार्यालय धनगढीको तथ्यांक छ।

त्रिनगर नाका हुँदै नेपालबाट भारतमा १३ करोड ७० लाख ९८ हजारको सामान निर्यात भएको छ। दुई महिनामा व्यापारघाटा भने २ अर्ब ४१ करोड ८५ लाख देखिएको हो। त्रिनगर भन्सारले आयातबाट ९८ करोड ७१ लाख ३१ हजार र निर्यातबाट ४ लाख ४७ हजार गरी ९८ करोड ७५ लाख ८० हजार राजस्व संकलन गरेको छ। गत आर्थिक वर्ष २०७९/८० मा २६ अर्ब ७१ करोड ९९ लाख ७८ हजारको सामान आयात हुँदा ४७ करोड ४७ हजारको सामान निर्यात भएको थियो।

सो वर्ष भन्सार कार्यालयले आयातबाट ८ अर्ब २५ करोड ५४ लाख ८२ हजार राजस्व संकलन गरेको थियो भने निर्यातबाट २२ लाख ५८ हजार राजस्व संकलन गरेको थियो। सो वर्ष यस नाकाबाट व्यापारघाटा २६ अर्ब २४ करोड ९९ लाख ३० हजार भएको थियो।  त्रिनगर नाकाबाट मुख्य रूपमा डिजेल, पेट्रोल, ग्यास, दालमोठ, पापडलगायतका नमकिन, निर्माण सामग्रीहरू फिनिसिङ सेरामिक्स, काँच, फलाम, कपडा, खाद्यान्न र तरकारीहरू आयात हुँदै आएको छ।

प्लान्ट क्वारेन्टिन कार्यालय भएको भएकाले पछिल्लो डेढ महिनायता खाद्यान्न र तरकारी आयात बन्द रहेको भन्सार अधिकृत पवित्रकुमार खड्काले बताए। यसैगरी त्रिनगर भन्सार नाकाबाट नेपालले कठ्ठा, रोजिन, टर्पेनटाइन, खयर कठ्ठा, खली, कालो नुन, चुनाढुंगालगायतका नौ प्रकारका सामग्री निर्यात गर्ने गरेको छ।

निर्यातभन्दा आयात गर्ने सामग्री निकै धेरै रहेकोले व्यापारघाटा एकदमै धेरै भएको हो। यस नाकाबाट एक हजार ७ सय ९ प्रकारका सामान आयात हुने गरेको भन्सार कार्यालयले जनाएको छ। आर्थिक मन्दीका कारण आयात र निर्यात दुवै घटेको छ। भन्सार अधिकृत खड्काले आयात ठूलो परिमाणमा घटेकाले राजस्व संकलनसमेत आधा घटेको बताए।

उनका अनुसार चालु आवको पहिलो र दोस्रो महिनामा राजस्व असुली लक्ष्यको ६० प्रतिशत मात्रै असुली भएको छ। भदौमा ८८ करोड ४० लाख १४ हजार लक्ष्य रहेकोमा ५१ करोड ९३ लाख २५ हजार मात्रै असुली भएको भन्सार कार्यालयले जनाएको छ। साउनमा ७२ करोड ३५ लाख ६९ हजार लक्ष्य रहेकोमा ४६ करोड ८२ लाख ५५ हजार असुल भएको छ।