भूकम्पमा परी जाजरकोटमा र रुकुम पश्चिममा १२८ जनाको मृत्यु, १४० जना घाइते
2023/11/04, 8:54
 
ss

जाजरकोटको लामीडाँडालाई केन्द्र बनाएर शुक्रवार राति ११ बजेर ४७ मिनटेरमा गएको ६।४ रेक्टरको भुकम्पमा परी  जाजरकोट र रुकुममा गरेर अहिलेसम्म १२८ जनाको ज्यान गएको प्रहरीले पुष्टि गरेको छ । त्यस्तै घाईते हुनेको संख्या करीव १ सय ४० जना भन्दा बढि रहेको प्रहरीले जनाएको ।

प्रहरीले भुकम्पमा परी जाजरकोटाको नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंह सहित जाजरकोटमा ९२ र रुकुममा ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डीएसपी सन्तोश रोकाका अनुसार जाजरकोटमा मात्रै अहिलेसम्म ४४ जनाको ज्यान गएको पुष्टि भएको छ । ज्यान गुमाउनेहरूमा भेरी नगरपालिकाका ३०, नलगाड नगरपालिकाका ६, कुशे गउँपालिकाका ७ र छेडागाड नगरपालिकाका १ जना रहेको रोकाले बताए ।

साथै भूकम्पमा परी जाजरकोटमा ५५ जना घाइते भएको बताइएको छ । घाइतेहरूमध्ये ५ जनालाई थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पठाइएको छ भने बाँकीको उपचार जिल्ला अस्पताल र अन्य स्थानीय स्वस्थ्य संस्थामा भइरहेको छ ।

त्यस्तै छिमेकी जिल्ला रुकुम पश्चिममा पनि भूकम्पले ठूलो क्षति गरेको छ । जिल्ला प्रहरी प्रमुख डीएसपी नमराज भट्टराईका अनुसार रुकुम पश्चिममा अहिलेसम्म ३६ जनाको मृत्यु भएको छ । जाजरकोटसँग जोडिएका आठबीसकोट नगरपालिकामा ३६ जना र सानीभेरी गाउँपालिकामा ८ जनाको ज्यान गएको भट्टराईले बताए ।

रुकुम पश्चिममा भूकम्पमा परी ८५ जना घाइते भएका छन् । यसमध्ये ९ जनाको अवस्था गम्भीर भएकाले हेलिकप्टरमार्फत उद्धार गर्ने तयारी भइरहेको छ । बाँकी अन्य घाइतेहरूको उपचार जिल्ला अस्पताल र चौरजहारी अस्पतालका साथै विभिन्न स्वास्थ्य संस्थामा भइरहेको बताइएको छ ।

तीनवटै सुरक्षा निकायको सक्रियतामा घाइतेहरूको उद्धारलगायतका काम भइरहेको दुवै जिल्लाका सुरक्षा प्रमुखहरूले बताएका छन् । भूकम्पका कारण मध्यपहाडी लोकमार्गको कालेखोलामा सुख्खा पहिरो जाँदा सडक अवरुद्ध भएको छ भने, रुकुम पश्चिमको आठबीसकोट जाने सडक पनि दुई स्थानमा पहिरो जाँदा अवरुद्ध छ । यसकारण पनि उद्धारमा केही ढिलाइ भएको बताउँदै रुकुम पश्चिम प्रहरी प्रमुख भट्टराईले जसोतसो घाइतेहरूको उद्धार कार्य चलिरहेको र सडक खुलाउने प्रयास भइरहेको जानकारी गराए ।