प्लान्ट क्वारेण्टीन यथाशिघ्र सञ्चालन गर्न व्यवसायीहरुको आग्रह
2023/11/20, 10:57
 
dfdgfdh

धनगढीका व्यवसायीहरुले भारतीय नाका गौरीफन्टासंग जोडिएको त्रिनगर भन्सारमा साउन २८ देखि बन्द रहेको प्लान्ट क्वारेण्टीन यथाशिघ्र सञ्चालन गर्न सरकारसंग आग्रह गरेका छन् ।

सुदूर पश्चिम प्रदेश सरकारद्धारा आयोजित छलफल कार्यक्रममा बोल्दै बरिष्ठ उद्योगपति ओमप्रकाश अग्रवालले त्रिनगर भन्सारमा रहेको प्लान्ट क्वारेण्टीन बन्द हुदा यस क्षेत्रका उद्योगहरु बन्द हुने अवस्थामा पुगेको बताए ।बरिष्ठ उद्योगपति अग्रवालले धनगढी नाकामा रहेको प्लान्ट क्वारेण्टीन बन्द हुदा नेपालगञ्ज नाका भएर कच्चा पदार्थ ल्याउनु परेको र त्यसले वस्तुको उत्पादनको लागत बृद्धि भएको सुनाए ।उनले बिभिन्न पक्षले बिभिन्न नाम र बहानामा उद्योगी व्यवसायीहरुलाई अनावश्यक दुःख दिने गरेको बताए ।

मैले ४० वर्षदेखि उद्योग सञ्चालन गर्दै आएको छु, अग्रवालले भने, हामीले उत्पादन गरेका चामलका विषयमा जो कोही आएर धम्क्याउछन, हुदा हुदा प्लाष्टिकको चामल बेच्यो सम्म भन्छन्, अव प्लाष्टिकको मूल्य ५०० रुपैया किलो पर्छ । चामल ६० रुपैया किलो बिक्री हुन्छ । प्लाष्टिकको चामल कसैले बनाउला ?

हामीले उत्पादन गरेको वस्तुहरु अखाद्य भए त्यसको छानबिन गर्ने निकाय छन् । उसले प्रमाणित गरोस कि हाम्रा वस्तुहरु अखाद्य छन् । ४० वर्षसम्म हाम्रा उत्पादनले मानव स्वास्थ्यमा असर गरेको छैन, उनले भने, तर यहाँ त जो कोही आफै वकिल, आफै न्यायधिश हुन्छन ।

बरिष्ठ उद्योगपति श्याम तायलले प्रदेश सरकारद्धारा व्यवसायीहरुसंग संवाद थालेकोमा धन्यवाद दिए । उनले सुदूर पश्चिम प्रदेश सरकारले लगानी तथा विकास सम्मलेन आयोजना गर्न लागेकोमा यस क्षेत्रका व्यवसायीहरु उत्साही भएको बताए । उद्योगपति हरीशंकर ठाकुरले उद्योग स्थापना देखि सञ्चालनसम्म झञ्झट भएको गुनासो गरे ।

एउटा उद्योग स्थापना गर्न दुई वर्ष लाग्छ । कर कार्यालयमा बरु पहिले भन्दा सुबिधा छ । त्यहाँको अवस्था सहज छ, उनले भने,  तर साना तथा घरेलु उद्योग कार्यालयको अवस्था उस्तै छ । जहाँ उद्योग दर्ताको प्रकृयामा मात्र ९० दिन लाग्छ ।

युवा व्यवसायी अनिल भुजानियाले सुदूर पश्चिममा जग्गाको मूल्य अधिक हुदा यहाँ लगानी गर्न बाह्य लगानीकर्ता हिच्किचाउने गरेको बताए । उद्योगका लागि छुट्याएको रकमले यहाँ जग्गा आउदैन । अनि कसरी यहाँ उद्योगधन्दाको विकास हुन्छ, उनले भने, मैले पनि त्यही कारण नेपालगञ्जमा उद्योग स्थापना गर्न लागेको छु ।

कैलाली उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले प्लान्ट क्वारेण्टीन साउन २८ देखि बन्द रहेको प्लान्ट क्वारेण्टीन यथाशिघ्र सञ्चालन नगरिए यस क्षेत्रका उद्योगहरु धराशायी हुने बताए ।

उनले उद्योग वाणिज्य संघको टोलीले प्रधानमन्त्री, अर्थमन्त्रि, कृषि मन्त्रि सबैलाई भेटेर प्लान्ट क्वारेण्टीन सञ्चालनका लागि गरेको आग्रह सुनुवाई नभएकोले प्रदेश सरकारका तर्फबाट संघीय सरकारलाई दवाव दिन आग्रह गरे ।

सुदूर पश्चिमको पर्यटन विकासमा हवाई जहाजको भाडा बाधक भएको बताए । काठमाण्डौंदेखि दिल्लीको भाडा सस्तो छ । तर काठमाण्डौंदेखि धनगढीको भाडा महंगो छ । अझ विदेशीहरुका लागि भाडा दर तेब्बर तोकिएको छ । यस्तो अवस्थामा सुदूर पश्चिममा कसरी पर्यटक आउछन् ? उनले प्रश्न गरे ।

नविन प्यालेट दाना उद्योग प्रा.लिका सञ्चालक दिनेश लम्सालले प्लान्ट क्वारेण्टीन बन्द हुदा दाना उद्योगहरु बन्द हुने अवस्थामा रहेको सुनाए । चार महिनादेखि हामी प्लान्ट क्वारेण्टीन सञ्चालनका लागि दवाव दिन काठमाण्डौं धाईरहेका छौ, उनले भने, अव हामी धर्ना र आन्दोलन गरौ कि, उद्योग सञ्चालन गरौ ।

काठमाण्डौंको हेपाहा प्रबृति र सुदूर पश्चिमलाई हेर्ने सिंह दरवारको दृष्टिकोणका कारण यस क्षेत्रका उद्योगीहरु मारमा परेको बताए । दुई जना कर्मचारी भएको प्लान्ट क्वारेण्टीन सञ्चालनका लागि चार महिनादेखि माग गरिरहेका छौ, लम्सालले भने, हामीले यो अबधिमा आश्वासन बाहेक केही पाएनौ ।

युवा व्यवसायी रविनकान्त पन्तले सुदूर पश्चिम प्रदेश सरकारले लगानी तथा विकास सम्मेलन आयोजना गर्न लागेकोमा यस क्षेत्रका व्यवसायीहरु उत्साही भएको बताए । उनले बाह्य लगानी भित्र्याउन सरकारले गरिरहेको पहलको प्रशंसा गर्दै यस क्षेत्रमा व्यवसाय सञ्चालन गर्दै व्यवसायीहरुको लगानीको सुरक्षामा समेत ध्यान दिन प्रदेश सरकारसंग आग्रह गरे ।

होटल रुवसका प्रबन्ध निर्देशक प्रकाश भट्टले बैंकले गरेको चर्को व्याज बृद्धि र आर्थिक मन्दीका कारण व्यवसायीहरु बिस्थापित हुने क्रममा रहेको बताउदै पर्यटन क्षेत्रको विकासका लागि बैंकको व्याजदरमा सहुलियत र लगानीको सुरक्षाका लागि सरकारले ध्यान दिनु पर्ने बताए ।

युवा व्यवसायी मानसिंह साउँदले पर्यटनको विकासका लागि होटल व्यवसायमा लगानी गर्ने व्यवसायीलाई व्याजमा सहुलियत दिनुपर्ने बताए । उनले प्रदेश सरकारले लगानी तथा विकास सम्मेलन मार्फत सुदूर पश्चिममा लगानी भित्र्याउन गरिरहेको कोसिसको प्रशंसा गरे । यो प्रदेश सरकारका तर्फबाट गरिएको सकारात्मक पहल हो, उनले भने, तर  होटल, उद्योग, जलविद्युत तथा बिभिन्न व्यवसायमा लगानी गर्न इच्छुक व्यक्तिहरुलाई ऋणमा, व्याज र करमा सहुलियत हुन आवश्यक छ । लगानी तथा विकास सम्मेलन पूर्व स्पष्ट नीति बनाउन भने आवश्यक छ ।

आरपी बेकरीका सञ्चालक आदित्य बिक्रम अग्रवालले उद्योगमैत्री वातावरण तथा नीति, बैंकको व्याजदरमा सहुलियत भए यस क्षेत्रमा थप उद्योगहरुको स्थापना हुने बताए । उनले प्लान्ट क्वारेण्टीन तत्काल सञ्चालनका लागि पहल गर्न सरकारसंग आग्रह गरे ।

कार्यक्रममा अग्नी पीडित व्यवसायीहरुले आफूहरुको सबै सामान जलेर नष्ट भएको बताउदै सरकारसंग आग्रह गरे ।
जुत्ता चप्पलको होलसेल बिक्रेता भण्डारी जनरल स्टोरका सञ्चालक दल बहादुर भण्डारीले आफू लगायत आधा दर्जन बढि व्यवसायीको सम्पूर्ण सामान जलेर नष्ट भएको सुनाए ।

उद्योग बन्द हुने अवस्था आउन दिन्नौ - मुख्यमन्त्री शाह

सुदूर पश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले सुदूर पश्चिमका उद्योगहरु बन्द हुने अवस्था आउन नदिने प्रतिबद्धता गरे ।
उनले प्लान्ट क्वारेण्टीन सुचारु गर्न प्रधानमन्त्री पुष्प कमल दाहाल, अर्थमन्त्रि, कृषि मन्त्रि लगायत सम्बन्धित उच्च अधिकारीहरुसंग आग्रह गरेको बताए ।

हामीले सम्पूर्ण सरोकारवालाहरुसंग प्लान्ट क्वारेण्टीन सञ्चालन गर्ने विषयमा छलफल र आग्रह गरेका छौ, मुख्यमन्त्री शाहले भने, हामीले सकारात्मक प्रतिक्रिया पाएका छौ ।

मुख्यमन्त्रि शाहले सुदूर पश्चिममा बिगतको तुलनामा उद्योग तथा व्यापार सञ्चालनका लागि सुरक्षित वातावरण रहेको दावी गरे ।
उद्योगी व्यवसायीहरुको लगानीको सुरक्षाका लागि प्रदेश सरकार प्रतिबद्ध छ, शाहले भने, कहीकतै केही अप्ठ्यारा र समस्याहरु भए हामीलाई भन्नुहोस, प्रदेश सरकार तपाईको साथमा उभिनेछ ।

उनले सुदूर पश्चिम प्रदेश सरकारले बाह्य पूँजी भित्र्याउन लगानी तथा विकास सम्मेलन आयोजना गर्न लागेको जानकारी दिदै लगानी तथा विकास सम्मेलनलाई सफल बनाउन यस क्षेत्रका उद्योगी, व्यवसायीहरुको सुझाव सल्लाह आवश्यक भएको बताए ।
हामी यो भन्दैनौ कि लगानी तथा विकास सम्मेलनले सुदूर पश्चिमको कायापलट हुन्छ, उनले भने, आम व्यवसायी र लगानीकर्तालाई सम्मेलनले उत्साह भने पक्कै थप्नेछ ।

मुख्यमन्त्री शाहले आमव्यवसायीहरुका समस्या बुझ्न व्यवसायीहरुसंग संवादको शुरुवात गरेको र यसलाई निरन्तरता दिने बताए । यो शुरुवात हो, मुख्यमन्त्री शाहले भने, आगामि दिन अन्य जिल्लाका व्यवसायीहरुसंग पनि यसैगरी संवाद गर्नेछौ ।  
कार्यक्रममा भौतिक पूर्बाधार मन्त्रि प्रकाश देउवा, आर्थिक मामिला मन्त्रि नरेश कुमार शाही र बन, वातावरण, उद्योग तथा पर्यटन मन्त्रि रमेश धामी, पूर्व मन्त्रि डा. रण बहादुर रावलले समेत मन्तव्य व्यक्त गरेका थिए ।