आजबाट नेपालमै पहिलोपटक बुक बिल्डिङ प्रक्रियाबाट सेयर बिक्री
प्रिमियमभन्दा कसरी फरक छ बुक बिल्डिङ?
2023/11/22, 12:56
 
ipo hkssd

आजबाट नेपालमै पहिलोपटक बुक बिल्डिङ प्रक्रियाबाट सेयर बिक्री सुरू भएको छ।  सर्वोत्तम सिमेन्टले आज (बुधबार)बाट बुक बिल्डिङ विधिबाट सेयर निष्कासन गरेको हो।  कम्पनीले संस्थागत योग्य लगानीकर्ताको लागि २४ लाख कित्ता सेयर जारी गरिरहेको हो। यो कम्पनीले जारी गर्न लागेको कुल ६० लाख कित्ता सेयरको ४० प्रतिशत हो। 

कम्पनीले अब संस्थागत योग्य लगानीकर्तालाई ४ सय १ रूपैयाँदेखि ६ सय १ रूपैयाँको दरमा सेयर जारी गरेको छ। यसमा संस्थागत लगानीकर्ताले बोलकबोल गर्नेछन्। बोलकबोलमा आवेदन दिएको अधिकतम मूल्य र सो अनुसारको कित्ता सेयर बाड्दै जाँदा जुन मूल्यमा पुगेर सेयर संख्या सकिन्छ, त्यही मूल्य 'कट अफ प्राइस' का रूपमा रहन्छ।

बोलकबोल मंसिर १० गतेसम्मको लागि खुला गरिएको छ।  यसरी बोलकबोल गरेको सेयर संस्थागत लगानीकर्ताले खरिद गर्नैपर्छ। यसभन्दा अघि पनि संस्थागत लगानीकर्ताहरूले बुक बिल्डिङ प्रक्रियाबाट कम्पनीको मूल्य निर्धारणका लागि कम्पनीको सेयरमा बोलकबोल गरेका थिए।  यसरी पहिले गरेको बोलकबोल प्रक्रियामा सहभागी हुन कम्पनीले मूल्य दिएको हुन्छ। त्यो समय बोलकबोलमा भाग दिएर मूल्य निर्धारण गरिने भए पनि सेयर भने बाँडफाँट गरिएको हुँदैन।

सर्वोत्तमले सुरूमा ५ सय १ देखि ७ सय ५१ रूपैयाँ ५० पैसा मूल्य कोट गरेको थियो। त्यसमा भएको बोलकबोलबाट ४ सय १ देखि ६ सय १ रूपैयाँसम्म निर्धारण भएको हो। अब संस्थागत योग्य लगानीकर्ताहरूले गर्ने बोलकबोलमा भने निस्किने कट अफ प्राइसभन्दा १० प्रतिशतले कम मूल्य राखेर दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर जारी गरिन्छ।

दोस्रो चरणमा सर्वसाधारणका लागि ३६ लाख कित्ता सेयर जारी हुनेछ। कम्पनीको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल छ। सर्वोत्तम कम्पनीले बुक बिल्डिङ प्रक्रियामा आइपिओ जारी गर्न २०७९ असारमा नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो। यसअघिका स्वार्थ बाझिने गरी बोर्ड अध्यक्ष लगायतले कम्पनीको सेयर खरिद गरेपछि यो कम्पनीको सेयर विवादमा परेको थियो। र, सेयर जारी प्रक्रिया लम्बिएको थियो।

हाल धितोपत्र बोर्डबाट एक सय ३५ भन्दा धेरै संस्थाले संस्थागत योग्य लगानीकर्ताको अनुमति पाएका छन्।योग्य संस्थागत लगानीकर्तामा सूचीकृत संगठित संस्था, सामूहिक लगानी कोष व्यवस्थापक, सामूहिक लगानी कोषका योजना, मर्चेन्ट बैंकर, विशेष ऐनद्वारा स्थापित  वित्तीय संस्था, मान्यता प्राप्त अवकाश कोष, धितोपत्र व्यापारी लगायत छन्। यस्ता संस्थाको नेटवर्थ न्यूनतम १० करोड रूपैयाँ हुनुपर्छ।

इक्रा नेपालले कम्पनीलाई बिबिबी रेटिङ दिएको छ। कम्पनीले सिमेन्ट र क्लिंकर उत्पादन गर्दै आएको छ। सुरूवातमा वार्षिक ४ लाख मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने जडान गरिएकोमा हाल हाल कम्पनीबाट वार्षिक करिब एक करोड टन सिमेन्ट उत्पादन भइरहेको छ।शौरभ समूहको मुख्य लगानीमा रहेको कम्पनीको नवरपरासीमा उद्योग सञ्चालनमा छ। कम्पनीले सर्वोत्तमको नामबाट ओपिसी र पिपिसी सिमेन्ट उत्पादन गर्दै आएको छ। कम्पनीले १३ सय डिलर्स मार्फत् सिमेन्ट बिक्री गरिरहेको छ। कम्पनीले केही महिना अघि मात्रै आवश्यक पर्ने विद्युत पूर्ण रुपमा पाएको छ। यसले पनि कम्पनीको ऊर्जामा भइरहेको खर्चमा केही कमी आउनेछ।

आर्थिक वर्ष २०७९/८० सम्ममा सर्वोत्तमको नाफा ४६ करोड ७६ लाखबाट घटेर २० करोड ७५ लाखमा सीमित भएको छ। उत्पादन बिक्रीबाट ७ अर्ब ८८ करोड आम्दानी गरिरहेको कम्पनीको यस्तो आम्दानी ५ अर्ब ३८ करोडमा सीमित भएको छ। आर्थिक वर्ष २०७९/८० सम्ममा सर्वोत्तम सिमेन्टको प्रतिसेयर आम्दानी ५ रूपैयाँ १३ पैसा छ। प्रतिसेयर नेटवर्थ १ सय ८५ रूपैयाँ १९ पैसा छ।

प्रिमियमभन्दा कसरी फरक छ बुक बिल्डिङ? 

अहिले कम्पनीहरूले पहिलो पटक सेयर जारी गर्दा अंकित मूल्य वा प्रिमियम मूल्यमा गर्न सक्छन्। अंकित मूल्यमा सेयर जारी गर्दा बिक्रीकर्ताले प्रतिकित्ता एक सय रूपैयाँमा सेयर बिक्री गर्नुपर्छ। केहीको अंकित मूल्य १० , ५० रूपैयाँ सम्म छ। कम्तिमा एक सय रूपैयाँ सम्म मूल्यलाई अंकित मूल्य मानिएको छ। 

प्रिमियम मूल्यमा सेयर जारी गर्दा भने पछिल्लो तीन वर्षको पुँजीकृत भएको आम्दानी (क्यापिटलाइज्ड अर्निङ), भविष्यमा प्राप्त हुने नगद प्रवाहको वर्तमान मूल्य (डिस्काउन्टेड क्यासफ्लो) र अन्तर्राष्ट्रिय प्रचलनको आधारमा मूल्यांकनकर्ताले अपनाएको अन्य कुनै एक विधि अवलम्बन गरेर औसत मूल्य निकालिन्छ। यसरी निकालिएको औसत मूल्य जति भए पनि कम्पनीले पछिल्लो लेखा परीक्षण भएको वित्तीय विवरणअनुसार प्रति सेयर कुल सम्पत्तिको दुई गुणाभन्दा बढी मूल्यमा जारी गर्न पाउँदैन। 

बुक बिल्डिङ प्रक्रियामा प्रिमियममा जस्तो सीमा हुँदैन। यसमा कुल सम्पत्तिको दुई गुणाभन्दा धेरै मूल्यमा पनि सेयर बिक्री गर्न सकिने अवस्था बन्छ।

धितोपत्र बोर्डमा बुक बिल्डिङ प्रक्रियाकै लागि भनेर दर्ता भएका योग्य संस्थागत लगानीकर्ताहरूसँग सेयर जारी गर्ने कम्पनीले चाहेको न्यूनतम संख्या, आशय मूल्य, मूल्यांकन विधि माग गर्छ। यिनलाई छुट्याइएको पूरै सेयर बिक्री हुने गरी कम्तीमा दस योग्य संस्थागत लगानीकर्ताहरूबाट आशय लिए पुग्छ। यही आधारमा उनीहरूबाट प्राप्त मूल्यअनुसार संस्थाले आधार मूल्य तय गर्छ। सो आधार मूल्यको कम्तीमा २० प्रतिशतले घटबढ हुने गरी यस्ता योग्य लगानीकर्ताहरूलाई छुट्याइएको सेयर बिक्री गर्न पाउँछन्। 

पछि बोलकबोल गरेर यस्ता संस्थालाई सेयर बिक्री गरिन्छ। बोलकबोल गर्दा संस्थाहरूले तोकेको मूल्य अनुसार कम्पनीले यिनलाई छुट्याइएको सेयर सबभन्दा बढी मूल्य हाल्नेबाट बाँड्न सुरू गरिन्छ। यसरी बाँड्दै जाँदा जुन मूल्यमा पुग्दा छुट्याइएको सेयर सकिन्छ, त्यही मूल्यलाई अन्तिम मूल्य (कट अफ प्राइस) मानिन्छ।

महँगोमा सेयर मागेका योग्य संस्थागत लगानीकर्ताले पनि अन्तिम मूल्यमा सेयर पाउँछन् भने सो मूल्यभन्दा कमको बोली लगाएकाहरूको हात रित्तै हुन्छ। यसरी तय भएको अन्तिम मूल्यभन्दा दस प्रतिशत कममा कम्पनीले सर्वसाधारणलाई सेयर बिक्री गर्न पाउँछ। उदाहरणका लागि, अन्तिम मूल्य ८ सय रूपैयाँ भएमा कम्पनीको आइपिओ मूल्य ७२० रूपैयाँ कायम हुनेछ।