कैलालीका पाण्डे झण्डै ८ किलो अवैध सुनसहित पक्राउ, अवैध बाटोबाट ल्याएका थिए सुन
2023/12/07, 10:53
 
ss

कैलालीका एक जना अवैध सुनसहित पक्राउ परेका छन्। नेपाल प्रहरीले कैलाली घर भई हाल काठमाडौंको नागार्जुन बस्ने पदमप्रसाद पाण्डेलाई न्युरोडबाट अवैध सुनसहित पक्राउ गरेको हो।

कैलालीको लम्कीचुहा ७ घर भएका पाण्डेको काठमाडौँ महानगरपालिका–२२ स्थित न्यूरोडमा सञ्चालित ‘ओम पर्ल गोल्ड प्रा।लि’ र ‘कैलाश ज्वेलर्स प्रा।लि’मा छापा मारेर ७ किलो ८ सय ग्राम सुन सहित उनलाई नियन्त्रणमा लिइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए।

४१ वर्षीय पाण्डे हाल नागार्जुन नगरपालिका–२ स्थित सानो भर्‍याङमा बस्छन्। सुन पसलमा भेटिएको सुनका बिस्कुट र गहना प्रहरीले बरामद गरेको छ। बरामद सुन थप अनुसन्धानका लागि उपत्यका अपराध अनुसन्धान कार्यालयले राजस्व अनुसन्धान विभागमा बुझाएको छ। दुईवटा पसलबाट बरामद गरिएको सुन र ४१ सय डलर राजस्व अनुसन्धान विभागमा पठाइएको एसपी रेग्मीले जानकारी दिए ।

बरामद गरिएको सुन अवैध बाटोबाट ल्याएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ। दुबई र चीनबाट आरोपीले भन्सार छलेर सुन ल्याएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको एसपी रेग्मीले बताए । उनले भने–‘सुन अवैध तरिकाले काठमाडौँ ल्याएको आशङ्का गरिएको छ, थप अनुसन्धान हुँदै छ।’सुन पसलमा ३९ लाख ५० हजार नेपाली रुपैयाँ भेटिएको छ। पाण्डेले नेपाली रुपैयाँको स्रोत खुलाउन नसकेपछि अनुसन्धान कार्यालयले उनलाई राष्ट्र बैङ्क कसुरमा मुद्दा चलाउन जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाएको छ ।